शुक्लाफाँटामा खबरदारीको नयाँ तरिकाः सबै वडाध्यक्षहरूलाई बिन्तीपत्र हस्तान्तरण

झलारी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा देखिएका बेथिति सुधारका लागि नयाँ तरिका अपनाइएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ निवासी पत्रकार जी भट्टले नगर कार्यपालिका सदस्य समेत रहेका सबै वडाध्यक्षलाई बिन्तीपत्र हस्तान्तरण गर्दै सुशासन कायम गराउन खबरदारी गरेका छन् । पत्रकार भट्टले आइतवार भेट्न सम्भव भएका सबै वडाध्यक्षहरूलाई बिन्तीपत्र बुझाइएको जानकारी दिए । उनले बिन्तीपत्रमा गुणस्तरहीन विकास, कर्मचारीमाथि लागेका आरोप, रोजगारी लगायतका विषय उठाएका छन् ।

‘बेथिति बढेको देख्दादेख्दै पनि मौन बसिराख्नु हुँदैन, कसै न कसैले त बोल्नैपर्ने थियो, त्यो मैले सुरु गरें,’ पत्रकार भट्टले भने, ‘बेथिति सुधार गर्नका लागि खबरदारी हो । बिन्तीपत्र पाएका कार्यपालिका सदस्यहरूबाट नगर कार्यपालिका सुधार हुने अपेक्षा छ ।’ बिन्तीपत्रमा उल्लेख छ, ‘नगरपालिकाभित्रका विकास निर्माण कार्य गुणस्तरहीन भइरहँदा समेत कार्यपालिका सदस्यहरूले प्रभावकारी खबरदारी गर्न नसक्दा भ्रष्टाचारजन्य कार्यमा मौन समर्थन जस्तो देखिने तथा मिलेमतो र आर्थिक प्रलोभनमा परेको आशंका जनस्तरमा व्यक्त हुने गर्दछ । स्कूल बेचेको प्रकरणमा मुछिएका व्यक्तिलाई नगर कार्यपालिकाले कारवाहीको सिफारिस गरिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत पदमा बहाल राख्नुले सुशासनमाथि प्रश्न चिह्न खडा भएको छ । वडामा विनियोजन हुने बजेट घट्नु र वडा सदस्यहरूलाई अधिकारसम्पन्न नबनाइनुले सहभागितामूलक लोकतन्त्रको खिल्ली उडाएको छ । विद्यालयको गुणस्तर सुधारमा कुनै प्रयास नै नगरी विद्यालय समायोजनका नाममा घरआँगनका विद्यालय बन्द गरी निःशुल्क शिक्षाको नागरिक सपनामाथि कुठाराघात गर्ने षड्यन्त्र भइरहेको छ । वडाध्यक्षहरू अधिकांश युवा निर्वाचित भए पनि युवा, रोजगारी, उद्यमशीलता विकास, उत्पादन वृद्धि लक्षित कुनै आकर्षक कार्यक्रम देखिएका छैनन्, नगरवासी पुनः निराश हुने अवस्थामा पुगेका छन् । नगरभित्र यस्ता बेथिति मौलाउँदा कार्यपालिका सदस्यहरू टुलुटुलु हेरी बसेर नागरिकता सिफारिसमा मात्रै सीमित हुन सुहाउँदैन । यी यावत् कुरामा तपाईंको ध्यानाकर्षण गराउँदै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गर्दछु ।’

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित शहरी विकास परियोजनाले गरिरहेको सडक निर्माणमा गुणस्तरहीन काम हुँदा समेत नगरपालिका मौन रहेको भन्दै आलोचना भइरहेका बेला पत्रकार भट्टले बिन्तीपत्रमार्फत खबरदारी गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्