काठमाडौँ — रौतहटको–२ मा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका किरणकुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बालकोटमा बोलाएर पार्टी प्रवेश गराएका हुन् । साह रौतहटको क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहसँग मिलेर चुनावमा उठेका थिए । हालै मात्र प्रभु साहले गठन गरेको आम जनता पार्टीमा उनलाई पनि राखिएको थियो । तर‚ उनी त्यसमा बस्न चाहेनन् ।
पार्टीले टिकट नदिएको र आफ्नो क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । साहले गत मंसिर ४ मा भएको प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसका फिरदोस आलमलाई हराएका थिए । उनले आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका थिए ।साह ३२ हजार ८४२ मतका साथ विजयी भएका थिए । उनी २०७४ को संसदीय चुनावमा पूर्वमन्त्री आफताव आलमसित भने १ हजार ५ सय ५५ मतले पराजित भएका थिए ।
लामो समय नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेका साह मधेसवादी दल हुँदै २०७७ सालमा एमालेमा प्रवेश गरेका थिए । उनी अहिले फेरि एमालेमै फर्किएका हुन् । साहको एमाले प्रवेशसँगै प्रतिनिधिसभामा एमालेको सांसद संख्या ७९ पुगेको छ ।
