कञ्चनपुरका सात स्थानीय तहमा जग्गाको नापजाँच शुरू

महेन्द्रनगर । कञ्चनपुरका सात स्थानीय तहमा जग्गाको नापजाँच शुरू भएको छ । जिल्लाका ९ स्थानीय तहमध्ये भीमदत्त र पुनर्वास नगरपालिका बाहेकका स्थानीय तहमा जग्गा नापजाँच शुरू भएको राष्ट्रिय भूमि आयोग, कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले बताए ।
उनका अनुसार जिल्लाको वेदकोट नगरपालिकामा जग्गा नापजाँचको काम सम्पन्न भइसकेको छ भने शुक्लाफाँटा, बेलौरी, कृष्णपुर, दोधारा चाँदनी नगरपालिका र बेलडाँडी तथा लालझाडी गाउँपालिकामा काम भइरहेको छ ।
भूमिहीन, भूमिहीन दलित र अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा दिन आयोगले काम गरिरहेको अध्यक्ष ढुंगानाले बताए । उनका अनुसार पहिलो चरणमा स्थानीयबाट आवेदन संकलन गरिएकोमा अहिले जग्गा नापजाँचको काम भइरहेको हो । जमीनको पुर्जाका लागि जिल्लाभरिमा ९० हजारभन्दा बढीले आवेदन दिएको आयोगले बताएको छ ।
‘कञ्चनपुरका भीमदत्त र पुनर्वासबाहेक सबै पालिकामा जग्गा नापजाँच भइरहेको छ,’ अध्यक्ष ढुंगानाले भने, ‘दुई पालिकामा कर्मचारीको अभावले काम अघि बढ्न सकेको छैन, अन्यमा काम भइरहेको छ ।’

भूमि आयोगका प्राविधिक कर्मचारीको नेतृत्वमा स्थानीय तहले कर्मचारी व्यवस्थापन गरी जग्गा नापजाँचको काम गरिरहेका छन् । ६ महीनाभित्र जग्गाको नापजाँच सक्ने लक्ष्य लिएको उनले बताए । ‘हामीले एकदेखि दुई जनासम्म प्राविधिक पठाएका छौं, स्थानीय तहले जति बढी कर्मचारी खटाएर काम गर्न सक्छन्, त्यतै नै चाँडो काम सकिन्छ,’ उनले भने । आयोगले कञ्चनपुरमा १८ जना कर्मचारी खटाएकोमा हाल १३ जना मात्र सेवारत छन् ।

स्थानीय तहले जग्गाको नापजाँचपछि कित्ता नम्बरसहितका फाइल कार्यपालिकाबाट पारित गरी आयोगलाई पठाउनुपर्नेछ । फाइल प्राप्त भएपछि १५ दिने दाबीविरोधको सूचना जारी गरी जग्जाधनी पुर्जा वितरणको काम अघि बढाउने आयोगले बताएको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले वडा नं ५ झिलमिलाबाट जग्गा नापजाँच शुरू गरिएको बताए । उनका अनुसार एक सर्वेक्षकसहित पाँच अमिन ऐलानी जमीन नापजाँचका लागि पठाइएको छ । जमीन भएका तर वर्षौंंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोवासीलाई जमीनको मालिक बनाउन काम अघि बढाइएको उनको भनाइ छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्