विमान दुर्घटनाले मुख्यमन्त्री रावल स्तब्ध, मृतक परिवारजनमा दिए समवेदना

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा जहाज दुर्घटनामा ज्यान गुमाउने सबैमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । मुख्यमन्त्री रावलले शोक वक्तव्य जारी गर्दै जहाज दुर्घटनाको दुःखद खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै निधन भएका व्यक्तिका घर परिवारमा समवेदना दिएका छन् ।
आइतबार करिब साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।
‘घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोज, उद्धार तथा उपचारको यथोचित व्यवस्थापनका लागि अनुरोध गर्दछु,’ जारी वक्तव्यमा भनिएको छ ।
चार जना चालक दलका सदस्य र ६८ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त भएको थियो । नागरिक उड्डयन प्राधिकरणले उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्