कप्तान बिन्दु रावलकाे सर्वाधिक रनमा सुदूरपश्चिम  सेमिफाइनलमा प्रवेश

सुनसरी — प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा सोमबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेका छन् । प्रदेश १ ले सोमबार लुम्बिनी प्रदेशविरुद्ध ९ रनको संघर्षपूर्ण जित हात पार्‍यो । इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको खेल बाक्लो हुस्सुले ९ ओभरका झारिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले ४ विकेट गुमाउँदै ५९ रन बनायो । ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले पहिलो विकेटमा ३८ रनको साझेदारी गरे । रुबिना १३ बलमा ४ चौका प्रहार गर्दै १७ रन बनाउँदै पाँचौं ओभरमा आउट भइन् । काजलले २१ रन जोडिन् । लकिता राजवंशी र अप्सरी बेगम १२ रनमा आउट भए । स्मृति कटुवाल ४ र सबनम राई १ रनमा अविजित रहे ।

लुम्बिनीकी कृतिका मरासिनी, सरस्वती पुन र विभाष्ना बीसीले समान १/१ विकेट लिए । लक्ष्मी चौधरीले ३१ रन बनाए पनि लुम्बिनीले ७ विकेट गुमाई ५० रन मात्र बनाउन सक्यो । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । आस्मा पुलामी २, कप्तान सरस्वती जीएम ६, सरस्वती पुन १, जिज्ञाषा थापा ४ र रञ्जु श्रेष्ठले १ रनमा आउट भए । प्लेयर अफ द म्याच संगीता राईले तीन, रुबिना, ज्योति दनुवार र सबनमले १/१ विकेट लिए । दोस्रो खेलमा सुदूरपश्चिमले पनि लगातार दोस्रो जित निकालेको छ । उसले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरी दुई खेलमा शतप्रतिशत जित निकाल्दै चार अंकका साथ सेमिफाइनल प्रवेश गरेको छ ।

यही समूहबाट पहिलो दुई खेलमा जित हात पार्दै एपीएफ सेमिफाइनल प्रवेश गरिसकेको छ । लगातार दोस्रो हारपछि गण्डकीको सेमिफाइनल यात्रा टुंगिएको छ । ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेटायो । कप्तान बिन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन बनाइन् । सोभा रोकाया ८ रनमा अविजित रहिन् । गण्डकीबाट एकमात्र विकेट निरुता जीटीले लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमुाउँदै ६० रन बनाएको थियो । सिमान केसीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सुदूरपश्चिमकी मनीषा चौधरीले ४ तथा स्नेहा महरा र ईश्वरी विष्टले समान एक विकेट लिए ।

दुई खेलमा शतप्रतिशत जित निकालेको प्रदेश १ चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको लुम्बिनीको दुई अंक रहेको छ । समान अंक भएको मधेस प्रदेश रनरेटका आधारमा तेस्रो स्थानमा छ । कर्णालीले दुवै खेल हारेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्