महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले आगामी १ फागुनदेखि महेन्द्रगर खुला मञ्चमा संचालन गर्ने व्यापार औद्योगिक महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई निमन्त्रण दिएको छ । सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघको टोलीले बालुवाटार पुगेर महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले महोत्सव उद्धघाटनका लागि प्रधानमन्त्रीलाई आमन्त्रण गरेकको बताए । उनका अनुसार संघले प्रधानमन्त्रीलाई बधाई दिदैँ महोत्सवको प्रमुख आतित्थताका लागि आग्रह गरेको हो । प्रधानमन्त्री दहालले आफु सुदूरपश्चिम आउन तयार रहेको बताएका छन् । उनले सुदूरपश्चिममा निर्माणधिन तथा प्रस्तावित योजनाको स्थलगत अनुगमन समेत गर्ने जनाएका छन् । उनले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र, गेटा मेडिकल कलेज सहितका योजनाको स्थलगत अनुगमन गर्नेछन् ।

निमन्त्रणा कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री खगराज भट्ट, प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल), पुर्व संसद रेनु चन्द, वाणिज्य संघका महासचिव खगेश्वर बोहरा, कोषाध्यक्ष चेतराज जोशी, सचिव राहुल भट्टलगायत वाणिज्य संघका पदाधिकारीको सहभागिता रहेको थियो ।

महेन्द्रनगरको खुला मञ्चमा १० दिनसम्म चल्ने महोत्सवममा स्थानीय कला संस्कृत तथा उत्पादनको प्रस्तुतीसँगै राष्ट्रिय कलाकारहरुको सहभागीता रहने अध्यक्ष जोशीले बताए । महोत्सवको तयारीका लागि मुल आयोजक समितिसँगै १५ वटा उप–समिति गठन गरिएको छ । तीन सय स्टल रहने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको अध्यक्ष जोशीको भनाई छ । ‘कोरोना महामारीपछि आर्थिक गतिविधि पुर्ण रुपमा लयमा फर्कन सकेको छैन्, मेलाले यहाको अर्थतन्त्र लयमा फर्किनेछ’ अध्यक्ष जोशीले भने ‘यसपालि यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेका छौ ।’