कार्यसम्पादन मुल्याङ्कनमा शुक्लाफाँटा उत्कष्ट, कृष्णपुर कमजोर

महेन्द्रनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुरका स्थानीय तहमध्ये शुक्लाफाँटा नगरपालिका अगाडी देखिएको छ । विभिन्न सुचकका आधारमा आयोगले गदैँ आएको मुल्याकन प्रतिवेदन अनुसार शुक्लाफाँटा नगरपालिका जिल्लाका नौ स्थानीय तहमध्ये उत्कृष्ट बनेको हो । कार्यसम्पादनमा शुक्लाफाँटाले सबैभन्दा बढी ७० दशमलव ४१ प्रतिशत अंक प्राप्त गरेको छ ।
त्यस्तै कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार जिल्लाको लालझाडी गाउँपालिकाले ६६ दशमलव ४२ गरि दोस्रो र ६४ दशमलव १८ अंक प्राप्त बेलडाँडी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । त्यस्तै बेलौरी नगरपालिकाले ६१ दशमलव ८३, पुनर्वास नगरपालिकाले ६० दशमलव ७५, भीमदत्त नगरपालिकाले ६० दशमलव ६८, वेदकोटले ४९ दशमलव २८ र दोधरा चाँदनी नगरपालिकाले ४८ दशमलव ३५ अंक प्राप्त गरेको छ । भने ४५ दशमलव ९ अंक प्राप्त गरि पुछारमा रहेको कृष्णपुर नगरपालिकाल कार्यसम्पादन मुल्याकंनको कमजोर देखिएको छ ।
कार्यसम्पादनबाट प्राप्त अंकका आधारमा प्रदेश तथा स्थानीय तहले संघ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिश गर्ने कानूनी प्रावधान छ । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिश गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्यांकन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई ध्यानमा राख्दै प्रदेशको समेत कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । सोहीअनुसार ४४ दशमलव ३ अंकसहित प्रदेश नम्बर १ अगाडी देखिएको छ । त्यस्तै गण्डकीले ३८ दशमलव ५, बागमतीले ३६ दशमलव १, लुम्बिनिले ३४ दशमलव ४, सुदूरपश्चिमले २६ दशमलव १, कर्णालीले २५ दशमलव ९ र मधेश प्रदेशले २० दशमलव ५ अंक पाएको छ ।
यसमा लेखापरीक्षण, बेरुजु फछ्र्योट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व संकलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ । ‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८’ का आधारमा मूल्यांकन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अंक प्रदान गर्ने गर्दछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्