कञ्चनपुर । जिल्लाको गड्डाचौकी नाकाबाट ६ महिनामा रू सात करोडभन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन ।
कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रू. ७ करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ ।
कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विकले चालू आर्थिक वर्षको हालसम्म रू. ८० करोडको सामान आयात भएको जानकारी दिए । ‘गत वर्ष १ अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो,’ उनले भने, ‘अहिले आयात घटेको अवस्था छ ।’
भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेडा, काउली, मुला, गाजर लगायतका तरकारी आयात हुने गरेको छ ।
कूल ६ महिनामा ३ हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भन्सारबाट रू. ३ करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ । यहाँबाट मसुर, मास, मटर, चना लगायतको दाल आयात भएको छ ।
कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भुषण गिरीले यहाँबाट चालू आर्थिक वर्षको ६ महिनामा रू. ३ करोड ६८ लाखको फलफूल गड्डाचौकीबाट भित्रिएको छ । गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अङ्गुर, स्याउ, सुन्तला, अनार लगायतको फलफूल भारतबाट आयात हुँदै आएको छ ।
त्यसैगरी भारतबाट चामल, दाल लगायतका खाद्यान्नसमेत आयात हुने गर्छ । यहाँबाट रू १ करोड ७८ लाख बराबरको उक्त खाद्य सामग्री भित्रिएको छ । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताए । ‘स्थानीय उत्पादनका कुनै समस्या देखिएन भने आयात घट्छ,’ अध्यक्ष सोनारले भने, ‘उत्पादन बढ्दा आयातमा कमी आउँछ ।’ ्
स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रूपमा आवद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने बताए । ‘१०÷१५ वर्षपहिले तरकारीमा हामी ८० प्रतिशत आश्रित थियौं,’ उनले भने, ‘अहिले १०÷१५ प्रतिशत मात्रै आयात हुन्छ की भन्ने छ ।
