नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि, सुधारको संकेत देखिएको हो त ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १२ दशमलव १० अंक बढेर १ हजार ९१८ दशमलव १० विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव ४१ अंक, फ्लोटेड इन्डेक्स शून्य दशमलव ७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६९ अंक बढेको छ । मंगलवार २५८ धितोपत्रको ४० लाख ७७ हजार ७७८ कित्ता ३५ हजार ९२६ पटकमा रू. १ अर्ब ४४ करोड बराबर कारोबार भएको छ । यस दिन सुपर माई हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भई रू. ४७३ दशमलव १० पुगेको छ । त्यस्तै दोस्रोमा श्रृजनशील लघुवित्तको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भई रू. १ हजार ३१३ दशमलव ३० पुगेको छ ।
मंगलवार अधिकांश लघुवित्त कम्पनीहरूको शेयर मूल्य बढेको छ । विगत केही दिनदेखि घट्दो ट्रेण्डमा रहेको लघुवित्त कम्पनीहरूको शेयरमा खरीदकर्ता आएकाले समूहगत परिसूचक सबैभन्दा बढी ३ दशमलव ४८ प्रतिशत वृद्धि भएको छ । केही कम्पनीहरूले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले दोस्रो पटकसम्म संशोधन गरिदिएकोले पनि अधिकांश लघुवित्त कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा झरेको थियो ।
मंगलवार सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ३ दशमलव १७ प्रतिशत घटेर रू. ४२५ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य २ दशमलव १५ प्रतिशत घटेर रू. ३६८ दशमलव ९० कायम भएको छ ।
यस दिन आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ६ करोड १५ लाख बराबरको भएको छ । यो कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । सोही कारण पनि सर्वाधिक शेयर खरीद विक्री भएको देखिन्छ ।
त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ५ करोड ९७ लाख बराबर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य पनि बजार निरन्तर घट्दो ट्रेण्डमा रहेका बेला तल्लो विन्दुमा आएकाले पनि सर्वाधिक शेयर कारोबार भएको देखिन्छ ।
बैंक समूहको परिसूचक शून्य दशमलव ४८ प्रतिशत, फाइनान्स समूहको शून्य दशमलव २९ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव १२ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक ३ दशमलव ४८ प्रतिशत बढेको हो । बजार केही समयदेखि घट्दो ट्रेण्डमा रहेकोमा सोमवारदेखि सुधारको संकेत देखिएको छ । परिसूचक बढ्दा कारोबार रकम पनि वृद्धि भएको छ । विशेषगरी अर्थमन्त्री नियुक्त हुने खबरले पनि लगानीकर्ता उत्साहित भएको अनुमान गरिएको छ । कांग्रेसले डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउने तयारी गरेको खबर बाहिरिएकाले पनि बजारमा सकारात्मक प्रभाव परेको एक लगानीकर्ताले बताए । केही समयदेखि बजार निरन्तर घट्दो ट्रेण्डमा रहेकाले पनि खरीद माहोल सृजना भएको देखिन्छ । यस दिन कुल बजार पूँजीकरण रू. २७ खर्ब ७८ अर्ब कायम भएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्