वेदकोटमा १५ शैयाको अस्पताल निर्माण हुँदै


महेन्द्रनगर ।
सर्वसाधारणलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउन वेदकोट नगरपालिकामा पन्ध्र शय्याको अस्पताल भवनको निर्माण अगाडि बढाइएको छ । नगरपालिकाको वडा नं ३ मा रू. नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो ।
अस्पताल भवन निर्माणका लागि राजेन्द्र निर्माण सेवा कम्पनीलाई जिम्मा दिइएको छ । निर्माण कम्पनीसँग अस्पताल निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए पनि साइड क्लियर नहुँदा निर्माण ढिलो गरी शुरू भएको छ । नगरप्रमुख भोजराज बोहराले अस्पताल निर्माण अगाडि बढेको बताए ।
‘अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि आवश्यक जग्गाको व्यवस्थापन नहुँदा कार्य अगाडि बढ्न सकेको थिएन,’ उनले भने, ‘जग्गा व्यवस्थापन गरी निर्माण व्यवसायीलाई ताकेता ग¥यौं, साइट क्लियर भएपछि निर्माण अगाडि बढेको छ ।’ उनका अनुसार अस्पताल निर्माणका लागि शारदा माध्यमिक विद्यालयले सात कठ्ठा, सामुदायिक वनले पाँच कठ्ठा गरी १२ कठ्ठा जग्गा उपलब्ध गराएको छ । अस्पतालका लागि दुईओटा भवन, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीका लागि आवासीय भवन निर्माणका लागि योजना निर्माण गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टका अनुसार दुई वर्षभित्रै निर्माण सक्नेगरी विसं २०७७ मा ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माण भई सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले चिकित्सकीय सेवा लिनका लागि महेन्द्रनगर र भारततर्फ जानुपर्ने झन्झट हट्ने बताइएको छ । नगरपालिकामा हालसम्म दुईओटा स्वास्थ्यचौकी, दुईओटा चौबीस घण्टे बर्थिङ सेन्टर र १० आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्