सबै मन्त्रीले मेरोजस्तै काम गरे देश बन्न समय लाग्दैन: मन्त्री अब्दुल खान

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले सबै मन्त्री र मन्त्रालयले आफूले जस्तै काम गरेमा देश बन्न समय नलाग्ने बताएका छन् । शुक्रबार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले साढे २ महिनाको अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरे ।
उनले भने ‘पानीको वितरण दुई महिनाभित्र अघि बढेको छ, यो हाम्रो मन्त्रालयको निम्ति र मैले सोचेको अनुसार ऐतिहासिक काम हो, यही अनुसार अन्य मन्त्रालयले पनि काम गर्ने हो भने देश बन्न कसैले रोक्न सक्दैन ।’

आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणा गरेको स्मरण गर्दै उनले त्यो घोषण अनुसार सिंहदरबारबाट काम सुरु गरेको बताए ।
शुक्रबार खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रुपमा सेवा पाउनेगरी सिंहदरबारभित्र स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो ।
उनले अब छिटै नै विभिन्न सार्वजनिकस्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए ।
मन्त्री खानले बोतल र जारको पानीको मुल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे ।
उनले पाँच वर्षभित्र खाने पानी निर्यात गर्ने समेत घोषणा गरे । ‘खानेपानीको समस्या समाधान गर्ने, दुई देखि अढाई वर्षसम्म तराई मधेसका समस्या समाधान गर्ने र ५ वर्षभित्र हाम्रो देशको पानी विदेशमा निर्यात गर्ने योजना छ,’ उनले भने ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्