आईपीएलमा साविक विजेता गुजरातको विजयी सुरुआत

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमयर लिग (आईपीएल) को १६औं संस्करणको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
पहिलो खेल नै जित्दै उपाधि रक्षामा सुखद सुरुआत गरेको गुजरातले चेन्नाईविरुद्ध अपराजित यात्रासमेत कायम राखेको छ ।
गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।
शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा चेन्नाईले दिएको १७८ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।
गुरजातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६३ रन बनाए । विजय शंकरले २१ बलमा २७, ऋद्धिमान शाहले १६ बलमा २५ तथा साई सुदर्शनले १७ बलमा २२ रन बनाए ।
केन विलियम्सन फिल्डिङका क्रममा घाइते भएपछि साई सुदर्शन इम्प्याक्ट प्लेयरको रुपमा मैदान प्रवेश गरेका थिए ।
गुजरातलाई जित दिलाउने काम अन्तिममा राहुल तेवाटिया र रासिद खानले पूरा गरे । तेवाटियाले १४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा अविजित १५ रन बनाए । यस्तै रासिदले ३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित १० रन जोडे ।
चेन्नाईका लागि यसै खेलबाट आईपीएल डेब्यु गरेका राजवर्धन हंगारगेकरले ३ तथा तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । चेन्नाईका लागि ओपनर रुतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रन बनाए । मोईन अलिले २३ र शिबम दुवेले १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १ चौका र १ छक्का मद्तमा अविजित १४ रन जोडे । गुजरातका मोहम्मद सामी, रासिद खान र अल्जारी जोसेफले २/२ विकेट लिए । रासिद खान प्लेअर अफ दि म्याच घोषित भए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्