दोदा जलाधारको जलवायु र विपद् जोखिमबारे प्रदेश स्तरीय छलफल

महेन्द्रनगर । दोदा जलाधार क्षेत्रमा जलवायु र प्रकोपको जोखिमलाई सम्बोधन गर्न प्रदेश स्तरीय छलपल गरिएको छ । सोमबार धनगढीमा डिपीनेट र नीड्स नेपालको समन्वयमा मर्सीकोरको ज्यूरीच बाढी उत्थानशीलता सञ्जालले दोदा जलाधार क्षेत्रमा जलवायु र प्रकोपको जोखिमलाई सम्बोधन गर्न छलफल कार्यक्रम आयोजना गरिएको हो ।

दोदा जलाधार क्षेत्रका प्रदेश सांसदहरू, नगर प्रमुख, र प्रादेशिक सरकारी कार्यालयका प्रतिनिधिहरू तथा विभिन्न सरोकारवाला निकायको समेत उपस्थितिमा आयोजित उक्त कार्यक्रममा जलाधार क्षेत्र व्यवस्थापनका सम्बन्धमा विस्तृत छलफल गरिएको छ ।

मर्सीकोरका नवीन चन्द्र जोशीले विपद् व्यवस्थापनको आवश्यकतामा जोड दिँदै नेपालमा जुरिच फ्लड रेजिलियन्स एलायन्सका गतिविधिबारे प्रस्तुती दिएका थिए । भने डिपीनेट नेपालका उपाध्यक्ष डा. राजु थापाले दोदा जलाधार क्षेत्रको अध्ययनले देखाएको विविध पक्षको बारेमा जानकारी गराए ।
उनले वन फडानी, भूक्षय र अन्य मानवीय गतिविधिका कारण बढ्दो जोखिम रहेको बारेमा समेत जानकारी गराएका थिए ।
त्यस्तै उनले वर्तमान चुनौतीलाई सम्बोधन गर्नका लागि सहयोगी संयन्त्र स्थापना गर्न सम्बन्धित सरोकारवालालाई आग्रह समेत गरे । राष्ट्रिय विपद् व्यवस्थापन परिषद्का सदस्य तथा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले नेपालमा विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणको आवश्यकतामा स्थानीय नेतृत्वको तल्लो तहसम्मको प्रयासमा केन्द्रित हुनु पर्नेमा जोड दिए ।
उनले राष्ट्रिय विपद् व्यवस्थापन परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री समक्ष छलफल कार्यशालाबाट आएको सुझावलाई प्रस्तुत गरिने बताए ।
त्यस्तै डिपीनेटका अध्यक्ष सूर्यबहादुर थापाले दोदा जलाधार क्षेत्रमा जलवायु र प्रकोप जोखिमको लागि एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम अगाडी बढाउनका लागि राजनीतिक प्रतिबद्धता सहितको संयन्त्र निर्माण आवश्यक रहेको औल्याए ।
विपद् जोखिम न्यूनीकरणलाई विकासका हरेक गतिविधिमा समाहित गर्दै विभिन्न तहमा निर्माण गरिएको कानुन, नियमावली, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्ने कुरामा समेत जोड छलफलमा जोड दिईएको छ ।

त्यस्तै कार्यक्रमका सहभागीले सरोकारवालाको पहिचान, स्रोत नक्साङ्कन, र आवश्यक रणनीतिमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य, नगर तथा गाउँपालिका प्रमुख र विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा एकीकृत जलाधार व्यवस्थापन कार्यक्रम, दिगो कृषि अभ्यास, सुधारिएको पूर्व चेतावनी प्रणाली र अन्तर–पालिका स्तरीय संयन्त्र मार्फत समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण रणनीतिको आवश्यकताबारे छलफल गरिएको थियो । सहभागीले राष्ट्रपति चुरे, तराई, मधेस, संरक्षण विकास आयोजना, जनता तटबन्ध कार्यक्रम जस्ता विद्यमान आयोजना र संस्थासँगको समन्वय तथा सहकार्यमा पनि जोड दिएका थिए ।

त्यस्तै दोदा जलाधार क्षेत्रले सामना गरिरहेका चुनौतीलाई सम्बोधनका लागि पहल गर्न स्थानीय तहको पनि महत्वपुर्ण जिम्मेवारी रहेको भन्दैँ समझदारी पत्र, एमओयूको मस्यौदा समेत तयार पारिएको छ । कार्यक्रममा सुदृढ विपद् व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन प्रयास, जैविक विविधता प्रवद्र्धधन गर्न वृक्षारोपण र निर्णय प्रक्रियामा स्थानीय समुदायको सहभागीतालाई गराउनु पर्ने सवाल पनि उठाईएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री खगराज भट्टले भावी पुस्ताका लागि दोदा जलाधार संरक्षण गर्न सरोकारवालालाई आग्रह गरे । कार्यक्रमले दोदा जलाधार क्षेत्रले सामना गरिरहेका चुनौती र कमजोरीलाई सम्बोधन गर्न सरोकारवालाबिच साझा प्रतिबद्धता र सहयोगको भावनालाई अभिवृद्धि गरेको थियो । त्यस्तै दोदा जलाधारको वातावरणीय अवस्था, सामाजिक–आर्थिक विकास र स्थानीय बासिन्दाहरूको जीविकोपार्जनलाई विपद् उत्थानशील बनाउन कार्यक्रमले मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्