यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा

काठमाडौँ — नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ । मंगलबार सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरि नेपाली क्रिकेट इतिहासकै ठूलो सफलता हात पार्न सफल भयो । प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान रहेको थियो । नेपालले पहिलो पटक एसिया कप खेल्ने छ । पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ ।
गुलशन झा र भीम सार्कीले अविजित अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा ग¥यो । झा र सार्कीले ९६ रनको साझेदारी गरेका थिए । गुलशनले ८४ बलमा ६७ रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बल खेली ३६ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।
गुलशनले दोस्रो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक पुरा गरेका हुन् । डेढ महिनाअघि विश्व क्रिकेट लिग २ को अन्तिम खेलमा उनले यूएईविरुद्ध नै अविजित ५० रन बनाएका थिए ।

नेपालको सुरुआत राम्रो थिएन । ८ ओभरमा नेपालले २२ रनमात्र बनाउँदा ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल १ रनमा आउट भए । उनलाई रोहन मुस्ताफाले एलबीडब्लु आउट गरे । आसिफ शेख पनि एलबीडब्लु आउट भए । उनलाई आयन खानले ८ रनमा आउटगरे ।

कप्तान रोहित पौडेल १ रनमात्र बनाई रोहन मुस्ताफाको बलमा बोल्ड भएपछि निकै दबाबमा परेको नेपाललाई गुलशन र भीम मिलेर उकासेका थिए । यूएईबाट मुस्ताफाले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए ।

वर्षाका कारण सोमबार स्थगित खेलले मंगलबार पनि निरन्तरता पाउदा यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो ।

त्यही स्कोरबाट मंगलबार खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए ।

उनै सिद्धिकीले ललितको बलमा एउटा छक्का पनि प्रहार गरे । ललितले नै सिद्धिकीलाई १० रनमा लङ अनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ७ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्