‘प्रधानमन्त्री भारतको कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक बन्‍न सक्नुभएन’

काठमाडौँ — प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल देशभक्त बन्नुको सट्टा भारतका लागि ’कम्फर्टेबल’ बनेर आएको आरोप लगाएका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले भारत भ्रमणका क्रममा दाहाल हेपिएर आएको टिप्पणी गरे । ’तपाईंले सबै फाँडेर आएजस्तो गर्नुभयो । तपाईंले साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो ।

अरु ल्याएँ भनेका कुरा त पुष्टी गर्नुपर्छ,’ ओलीले भने, ’आफू कम्फर्टेबल हुनुभयो, प्याट्रियोटिक हुन सक्नुभएन । तपाईं देशको पक्षमा उभिन सक्नु भएन ।’ ओलीले नेपालको मिचिएको भूभागबारे किन दिल्लीमा कुरा नगरेको भन्दै दाहालमाथि प्रश्न गरेका थिए । ’डरलाग्दो कुरा यहाँ छ । बुद्धिजीवीले काठमाडौंमा सट्टापट्टा पनि गर्नुपर्छ भनेका थिए भने त्यो कुरा भन्न दिल्ली पुग्नुपर्थ्यो ? यस्तो विगुल फुक्न दिल्ली पुग्नुपर्ने थियो ?’ ओलीले भने,’प्रधानमन्त्री पुष्पकमल दाहाल हेपिनुभयो भने नेपालको प्रधानमन्त्री हेपिएको हामी पनि हेपिएको हो ।

नेपाल समान सार्वभौम रुपमा चलेको देश हो । माओवादी केन्द्रको अध्यक्ष भएर जे गरे पनि भयो तर तपाईं प्रधानमन्त्री भएर यस्तो गर्न मिल्दैन ।’प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको तथा प्रटोकल नमिलेको भन्दै उनले ओलीले आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्रीले दिल्लीमा भारतीय उच्च अधिकारीहरूसँगको भेटमा नेपाल सरकारका अधिकारीहरूलाई नराखेर छोरीलाई राखेकोमा पनि आपत्ति जनाएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्