‘करको दर हेरफेर’ मा सरकारले जवाफ नदिउन्जेल सदन चल्दैनः एमाले

काठमाडौँ — नेकपा एमालेका सचेतक महेश बर्तौलाले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिले भूमिका विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन् । मंगलबार संघीय संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक बर्तौलाले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको प्रवेश अख्तियार दुरुपयोग र भ्रष्टाचार भएको भन्दै सरकारले जवाफ दिनुपर्ने बताए ।
‘हिजो करका विषयसँग जोडिएको विषयहरु बाहिर आए त्यसमा हाम्रो चासो रहेको छ । सदन सञ्चालनपूर्व सरकार यस विषयमा जवाफ दिन तयार हुन्छ भने हाउस चलाउन तयार छौं,’ बर्तौलाले भने, ’यस विषयमा सरकारले देश, सदन र जनताप्रति जवाफदेही भएन भने बैठक सहजताका साथ जाँदैन । यस विषयमा मन्त्रीले जवाफ नदिउन्जेलसम्म बैठक चल्दैन ।’ प्रतिनिधिसभाको बैठक मंगलबार बिहान ११ बजे बोलाइए पनि दलहरूबीच सहमति हुन नसक्दा बैठक १ः३० बजेलाई सारिएको छ । यस पटकको बजेट निर्माणमा पनि पूर्वनायब सुब्बा (नासु) लाई संलग्न गराइएको भन्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि प्रश्न उठेको हो । सरकारले भने पूर्वनासु रामकृष्ण श्रेष्ठ भन्सार विभागमा करारमा कार्यरत रहेको भन्दै आफ्नो प्रतिरक्षा गरेको छ । पूर्वकर्मचारीलाई अनुभवका आधारमा करारमा राखेर नियमित सहयोग लिने अभ्यास रहेको अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्