विशेष अदालतले कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा तीन जनालाई ९ वर्ष कैद सजाय सुनाएको छ । आज (मंगलबार) विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय सुनाएको हो । आज विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले उनीहरूको सजाय फैसला गरेको हो । फैसला अनुसार लुम्बध्वज महतलाई ९ वर्ष एक महिना तथा उमेश ढकाल र चुडामणि शर्मालाई ९÷९ वर्ष कैद हुने भएको छ । यस्तै, उनीहरुले ४ अर्ब १० करोड ४६ लाख ९७ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
बिगो र जरिवाना गरी हरेकले ६ अर्ब १६ करोड ४० लाख ९६ हजार ८ सय ४७ रुपैयाँ तिर्नुपर्ने विशेष अदालतले जनाएको छ । उनीहरूलाई उक्त इजलासले गत जेठ १८ गते दोषी ठहर गरिसकेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका दुई मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो । गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो । अख्तियारले २०७४ साल असारमा उनीहरूविरूद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनीहरूले विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको अख्तियारको आरोप थियो । ९ वर्षअघि गठित आयोगले कर विवाद फर्छ्यौट गर्ने जिम्मेवारी पाएको थियो । अख्तियारको सुरूको मुद्दा २० अर्ब ९८ करोड रुपैयाँ कर छुट दिने निर्णयबारे थियो । सो मध्ये १० अर्ब दुई करोड रुपैयाँ नियम बमोजिम कर छुट दिएको निष्कर्ष अख्तियारले निकालेको थियो । बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्याइ थियो । अख्तियारले दुई वर्षअघि पनि उनीहरूविरूद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्ने अर्को मुद्दा चलाएको थियो । विशेष अदालतले उक्त मुद्दामा पनि कसुर कायम हुने ठहर गरेको छ ।