नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब

काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९\८० मा मुलुकको वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १६ दशमलव ५८ प्रतिशतले घटेको छ । गतवर्ष आयात ३ खर्ब ८ अर्ब ७१ करोड र निर्यात ४२ अर्ब ८९ करोड रुपैयाँले घटेको तथ्यांक भन्सार विभागले सोमवार सार्वजनिक गरेको हो ।

आव २०७८\७९ मा २१ खर्ब २० अर्ब ४७ करोड नाघेको पुगेको कुल वैदेशिक व्यापार २०७९\८० मा १७ खर्ब ६८ अर्ब ८७ करोड रुपैयाँमा ओर्लेको छ । गतवर्ष आयात १६ दशमलव शून्य ८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ ।

कुल वैदेशिक व्यापारमा ९० प्रतिशतभन्दा बढी योगदान रहेको आयातलाई निरुत्साहित गर्ने सरकारी नीतिका कारण कुल वैदेशिक व्यापारको आकार खुम्चिएको हो । विदेशी विनिमय सञ्चितिमा कमी आएको भन्दै सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध गत आर्थिक वर्षको झन्डै आधा अवधिसम्म लम्बिएको थियो ।

निर्यातमा भने प्रोत्साहन नीति हुँदाहुँदै पनि कमी देखिएको छ । भारतले खानेतेलको कच्चा पदार्थ आयातमा लगाउँदै आएको शुल्क घटाएपछि नेपालको निर्यात खुम्चिएको हो । भारतले दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) बाहेक अन्य मुलुकबाट आयात हुने खानेतेलको कच्चा पदार्थ आयातमा ४० प्रतिशत शुल्क लगाएको बेला नेपाली व्यवसायीले

विदेशबाट अप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्थे । नेपालबाट भारतमा खानेतेल निकासी गर्दा साफ्टा सुविधाअन्तर्गत ५ प्रतिशत मात्र शुल्क तिरे पुग्थ्यो । पछि भारतले अप्रशोधित तेल निकासीमा लाग्ने शुल्क २ दशमलव ५ प्रतिशतमा झारेपछि नेपालबाट हुने निकासीमा नकारात्मक असर परेको हो ।

१३२ देशसँग व्यापारघाटा

मुलुकले आव २०७९\८० मा संसारका १७० देशसँग व्यापार गरेकोमा १३२ देशसँग व्यापारघाटा छ । ३८ देशसँगको व्यापारमा नाफा छ । निर्यात गर्ने स्वदेशी वस्तु नहुँदा व्यापारघाटा बढ्दो क्रममा रहेको विज्ञ बताउँछन् ।

सबैभन्दा धेरै व्यापारघाटा भारतसँग छ । सबैभन्दा धेरै नाफा डेनमार्कसँग छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपाल स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेसम्म व्यापारघाटा कम नहुने बताउँछन् । ‘हाम्रोमा आन्तरिक उत्पादन नै छैन । हामीले आयातमात्र गर्ने गरेका छौं,’ नेपाल भन्छन्, ‘व्यापारघाटा कम गर्न सरकारले विशेष क्षेत्र छुट्ट्याएर आन्तरिक उत्पादन प्रवर्द्धन गर्नुपर्छ ।’

नेपालमा अनावश्यक वस्तु आयात गर्ने चलन भएको उनी बताउँछन् । ‘नेपालीसँग रेमिट्यान्सको सजिलो पैसा छ । त्यसैले अनावश्यक वस्तु आयात गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘हिजोको दिनमा विदेशी मुद्रा सञ्चिति नै सकिने गरी आयात भएको थियो, जसको प्रत्यक्ष असर हामी सबैले भोग्नुप¥यो ।’

उनका अनुसार सरकारले अन्तरराष्ट्रिय बजारमा सम्भावना भएको वस्तु उत्पादन गर्न प्रत्साहन गरेर निर्यात प्रवर्द्धन गर्नुपर्छ । त्यसो गर्न सके साझेदार मुलुकसँगको व्यापारघाटा क्रमशः कम गर्दै लैजान सकिन्छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्