एमालेकाे वृहत वृक्षरोपण अभियान: कञ्चनपुरमा ५ हजार बढी विरुवा राेपियाे

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरअन्तर्गत विभिन्न पालिका र वडामा वृक्षरोपण गरिएको छ ।

एमाले कञ्चनपुरले राष्ट्रिय भूसंरक्षण दिवसको अवसरमा बुधबार सबै वडामा वृक्षरोपण गर्न निर्देशन दिएको थियो । त्यसअघि राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले पनि वृक्षरोपणलाई अभियानकै रूपमा चलाउने निर्णय गरेको थियो । एमाले नेता तथा निवर्तमान सांसद डा. दीपकप्रकाश भट्टले विगत केही दिनदेखि बहुसरोकारवालाहरूबीच अन्तर्क्रिया र समन्वय गर्दै आज ४९औं राष्ट्रिय भूसंरक्षण दिवसका सन्दर्भमा आयोजित वृक्षरोपण कार्यक्रमअन्तर्गत नेकपा एमाले कञ्चनपुरले ५ हजारभन्दा बढी विरुवाहरू रोप्ने काम सम्पन्न गरेको जनाएका छन् ।

एमाले दोधाराचाँदनी नगर कमिटीले वृक्षरोपण कार्यक्रम गरेको युवा नेता ओम बस्नेतले जानकारी दिए । कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा निवर्तमान सांसद निरुदेवी पाल, पूर्व सांसद डा. दिपकप्रकाश भट्ट लगायत नेता, कार्यकर्ताको उपस्थिति थियो ।

दोधाराचाँदनी नगरपालिकाको वडा नम्बर ३ र ९ मा वृक्षरोपण कार्य गरिएको छ । यस्तै भीमदत्त नगरपालिकाको ३, ४, ९, १०, ११, १८ नम्बर वडामा पनि वृक्षरोपण कार्यक्रम गरिएको छ ।

नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरको वन तथा वातावरण विभागले बेदकोट नगरपालिका–३ दैजीको ग्रिनबेल्ड सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम गरेको छ । कार्यक्रममा पोलिटब्युरो सदस्य निरुदेवी पाल, केन्द्रीय कमिटी सदस्यहरू नरबहादुर धामी, कृपाराम राना, जिल्ला विभागका प्रमुख लक्ष्मी साउँद लगायतको उपस्थिति रहेको थियो ।

सामाजिक कार्यमा सक्रियता र नेतृत्वदायी भूमिका निर्वाह गर्ने अभियानअनुसार एमाले कञ्चनपुरले बर्खायाममा वृक्षरोपणलाई व्यापक रूपमा सञ्चालन गरेको जिल्ला कमिटी सचिव पल्लबराज भट्टले जानकारी दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्