एमालेले नौ बुँदामा गरायो मेयर बोगटीको ध्यानार्कषण: ‘नगरवासिमा नेतृत्व बिहिनताको आभास भयो’

महेन्द्रनगर । नेकपा कम्युनिष्ट पार्टी (एमाले)ले भीमदत्त नगरपालिकामा भईरहेको गतिविधिबारे स्थानीय सरकारको ध्यानार्कषण गराएको छ । नयाँ निर्वाचित जनप्रतिनिधिहरुले नगरवासिमा नेतृत्व बिहिनता महशुस गराएको भन्दैँ एमालेले खबरदारी गरेको हो ।
पछिल्लो समय नगरपालिकाले जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दैँ आलोचना भईरहेका बेला एमालेले नगर प्रमुख पदम बोगटीलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराएको हो । बिहिबार नेकपा एमालेले भीमदत्त नगर कमिटिले ध्यानाकर्षणसहित नौँ बुँदे ज्ञापनपत्र बुझाएको छ । एमालेले भीमदत्त नगर ईन्चार्ज प्रमानन्द जोशीले स्थानीय सरकारले जन अपेक्षा अुनसार काम गर्न नसकेकाले ध्यानाकर्षण गराएको बताए । उनले संविधानले नागरिकलाई प्रदान गरेको अधिकारको प्रत्याभुती हुने गरि काम गर्न नगरपालिकालाई ध्यानाकर्षण गराएको बताए ।
एमालेले पालिकाको आन्तरिक आय सबल बनाउन महाकाली नदीको रोयल्टी संकलनका लागि ठेक्का व्यवस्थापन, ठेला बजार व्यवस्थापन, छाडा चौपायाको व्यवस्थापन, कर वृद्धि फिर्ता र नदीजन्य पदार्थमा बढाएको कर वृद्धि फिर्ता लिन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

‘जनतालाई घरदैलोमा नै सबै प्रकारका सेवाहरु उपलब्ध गराउने अभिलाषा राखी नेपालको संविधानले अनुसुचीहरुमा संघ, प्रदेश र स्थानीय तहका एकल एवम् साझा अधिकारहरुको स्पष्ट व्यवस्था गरेको छ । संविधान प्रदत्त अधिकार उपभोग गर्न पाउनु भीमदत्त नगरबासीको अधिकार हो ।’ ज्ञापन पत्रमा भनिएको छ । ‘स्थानीय तहको निर्वाचन, २०७९ बाट निर्वाचत जनप्रतिनिधिहरुले नगरको समग्र विकास र विस्तारका योजनाहरुलाई निरन्तरता दिनुको सट्टा भ्रम सिर्जना काममा लागि रहने, नगरपालिकामा गठन हुने विभिन्न समितिहरु गठन गर्दा एकलौटी, मनोमानी पुर्वक गठन गर्ने, नगरबासीहरुलाई सेवा सुविधा दिनु भन्दा पनि भ्रमणमा मात्रै ध्यान दिई नगरपालिकाको फजुल खर्च जस्ता कार्यहरुमा मात्रै ध्यान गईरहेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

त्यस्तै नगरको समग्र विकास तथा विस्तारको कामलाई निरन्तरता दिई नगरबासीहरु आर्थिक समृद्धि तर्फ अगाडी बढ्नुको सट्टा दिशा विहीन भई आम भीमदत्त नगरबासीहरुलाई नेतृत्व विहिन भईरहेको आभास हुन गएको पनि एमालेलेको ठहर छ ।
भीमदत्त नगरपालिकाको नेतृत्वले तत्काल आम नगरबासीलाई विश्वासमा लिई योजनावद्ध ढंगले नगरको समग्र विकास निर्माणका साथै जनजीविकाका सवालमा गम्भीर भई लाग्न नेकपा(एमाले) माग गरेको छ ।

भीमदत्त नगरपालिकाका मेयर बोगटीले कानुनी जटिलताका कारण काम गर्न नसकिएको बताए । उनले ज्ञापनपत्र बुझ्दैँ कतियप कामहरु गर्न कानुनी जटिलता रहेको बताए । ‘चाहे अनुसार काम गर्न कतिपय कानुनको पनि अभाव छ, केन्द्र र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएपनि त्यस तर्फ चाँसो दिएका छैन् ।’ उनले भने ‘कानुनी आधार नभई काम गर्दा अख्तियारमा मुद्धा परि हाल्छ, ।

जन अपेक्षा अनुसार काम गर्न सक्दो प्रयास गरिरहेको छ ।’ एमाले नेताहरुले कानुनी जटिलता देखाएर जनताकोे कामबाट नपन्छिन मेयर बोगटीलाई आग्रह गरेका छन् । आवश्यक कानुनी निर्माण गरि जनताको पक्षमा विकास निर्माणका काम गर्न उनिहरुको माग छ ।

यस्ता छन् ज्ञापनपत्रका नौ बुँदा
१) भीमदत्त नगरपालिकाको आन्तरिक आयको मुख्य स्रोतको रुपमा रहेका महाकाली नदी लगायतका विभिन्न खोलाहरुको वातावरणिय प्रभाव मुल्यांकन (आईइ) र विस्तृत वातावरणिय प्रभाव मुल्यांकन (इआए) समयमै नगरी नगरको नेतृत्वको लापरवहीका कारणले नगरपालिकाको करौड रकम गुम्ने अवस्थामा पुग्नुका साथै महाकाली नदी किनारका दैनिक रुपमा महाकाली नदिमा बालुवा, गिट्टी, ढुंगाको भरमा गुजारा गरिरहेका नागरिहकहरुको जीवनयापन गर्नबाट बन्चित हुनुका साथै विकास निर्माणको कामहरुमा अवरोध सिर्जना हुन पुगेकोले तत्काल महाकाली नदि लगायत विभिन्न खोलाहरुको ठेक्का बन्दोबस्ती गर्न जोडदार माग गर्दछौ ।
२) विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस पश्चात देशभरी नै व्यवसायीहरु आर्थिक संकटबाट गु्रजिरहेको अवस्थामा भीमदत्त नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका पसलहरुको भाडा, तथा नदीजन्य पदार्थको रोयल्टी प्रतिघनमिटर रु.१०५। बाट रु.२१०। गरिएकोले सो वृद्धि फिर्ता लिन माग गर्दछौ ।
३) भीमदत्त नगरपालिकाले घरबाटो प्रमाणित गर्न आर्थिक ऐन अनुसार रु.१३००। लिदै आएको राजश्वमा वृद्धि गरी रु.२८००। गरेकोले सो अस्वाभिक मात्रामा गरेको राजश्व वृद्धि तत्काल घटाउन माग गर्दछौ ।
४) भीमदत्त नगरपालिका अन्र्तगत सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत मदन चोक–ऐरीघाट सडक खण्डको करिब सत्तरी प्रतिशत कार्य सम्पन्न हुदाँ पनि मझगाउँ विमानस्थल भन्दा अगाडी र राधाकृष्ण मन्दिर खण्डमा नाली निर्माण नगरि अन्य निर्माण कार्यहरु अगाडी बढी रहेकोले सो क्षेत्रमा नाली निर्माण र मदन चोक क्षेत्रमा रहेका व्यवसायीहरुको उचित व्यवस्थापन गर्दै सो क्षेत्रको सडक, नाली निर्माण लगायतका सडक नाली निर्माण कार्य अगाडी बढाउन गर्न माग गर्दछौ ।
५) आर्थिक वर्ष २०८०/८१ का लागि भीमदत्त नगरपालिकाले पारित गरेको बजेट पुर्ण रुपमा वितरणमुखी भएको र आन्तरिक आय अस्वभाविक रुपमा बढी अनुमान गरेको, लक्ष्य सम्म पुग्नका लागि नगरपालिकाले आवश्यक कार्य नगरेको हुदाँ बजेट कार्यान्वयनमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण गर्दछौ ।
६) भीमदत्त नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका ठेला व्यवसायीहरुको निर्माण भईरहेको ठेला बजार निर्माण कार्य समय मै सम्पन्न गरि ठेला व्यवसायीहरुका समस्या सामाधान गर्न माग गर्दछौ ।
७) नगरको समग्र मुहार फेरिने गरि सञ्चालनमा रहेको क्षेत्रीय शहरी विकास योजनाको पहिलो सर्तको रुपमा समेत रहेको एकिकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको प्रक्रिया यथासिघ्र अगाडी बढाउन माग गर्दछौ ।
८) विगतका विकास निर्माणका योजनाहरुको निरन्तरता र अधुरा योजनाहरुलाई पुर्णता दिन र अनावश्यक रुपमा भईरहेको वितरणमुखी बजेट रोक्न माग गर्दछौ ।
९) छाडा चौपाया दिर्घकालिन व्यवस्थापनका लागि आवश्यक योजना सहित छाडा चौपाया व्यवस्थापन गर्न जोडदार माग गर्दछौ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्