शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रेस्क्यु सेन्टर स्थापना गरिदैँ

महेन्द्रनगर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु रेस्क्यु सेन्टर (उद्धार केन्द) स्थापना गरिने भएको छ । शुक्लाफाँटा आरक्षबाट निकुञ्जको रुपमा विस्तार भएको सात वर्षपछि शुक्लाफाँटाले वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न लागेको हो ।

शिकारी र तस्करको पाँसोमा परेका वन्यजन्तुको तत्काल उद्धारका लागि निकुञ्जले रेस्क्यु सेन्टर स्थापना गर्न लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख(वाडेन) प्रमोद भट्टराईले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरुवा भई आएका वाडेन भट्टराईले सोमबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम निकुञ्जका भावी योजनाबारे जानकारी दिएका हुन् । उनका अनुसार चालु आर्थिक वर्ष भित्रमा नै निकुञ्जमा रेस्क्यु सेन्टर सञ्चालनमा आउनेछ ।

त्यसका लागि निकुञ्ज कार्यालयले सम्भावित क्षेत्र छनौटको काम गरिरहेको छ । रेस्क्यु सेन्टरका लागि निकुञ्ज कार्यालयको टोलीले तीन वटा क्षेत्रमा स्थान छनौट गरेको छ । निकुञ्जको पिपरैया, अर्जुुनी ब्यारेक र लालपानी क्षेत्रमा रेस्क्यु सेन्टर स्थापना गर्न उपयुक्त देखिएको वाडेन भट्टराईले बताए । थप प्राविधिक अध्ययनपछि सेन्टरका लागि क्षेत्र छनौट गरिनेछ । रेस्क्यु सेन्टर स्थापनापछि पाँसोमा परेका तथा घाईते संरक्षीत सुचिमा रहेका वन्यजन्तुको तत्काल उद्धार गर्न सहज हुनेछ । यसअघि पाँसोमा परेका बाघ, चितुवाको उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली बोलाउनु पर्ने बाध्यता रहेको थियो । रेस्क्यु सेन्टरमा तालिम प्राप्त उद्धारकर्मी र आवश्यक उपकरणको व्यवस्था हुनेछ । साथै उद्धारसाथै पर्यटन पवद्र्धनका लागि हात्तिसार दुई हात्ति थप गर्ने योजना रहेको पनि वाडेन भट्टराई बताए ।

चोरी निकासि नियन्त्रणका लागि निकुञ्ज सुरक्षा व्यवस्थामा कडाई गरिएको उनका दावि छ । गत हप्ता मात्रै निकुञ्ज कार्यालयले दुई भारतीय तस्करहरुलाई नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । त्यस्तै निकुञ्ज कार्यालयले संरक्षणसँगै आवश्यक पर्यटन पुर्वाधारमा पनि जोड दिएको छ । पुर्वाधार निर्माणका लागि विभागसँगै प्रदेश र स्थानीय सरकारसँग समन्वय र सहकार्य गरिने वाडेन भट्टराईको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्