छाडा चौपाया व्यवस्थापनमा असक्षम भीमदत्त, स्थानीयद्धारा नगरपालिका घेराउ

कञ्चनपुर — अघिअघि छाडा चौपायाको हुल । पछाडि लट्ठी समातेर लखेट्दै स्थानीय । एयरपोर्ट रोडबाट महेन्द्रनगर बजार हुँदै भीमदत्त नगरपालिकाको गेटमा पुगेपछि छाडा चौपाया दायाँबायाँ लागे । नगर प्रहरीले गेट बन्द गरेर चौपायामात्रै होइन सेवाग्राहीलाई समेत प्रवेश गर्न दिएनन् । गाईगोरु लेखट्दै मंगलबार नगरपालिकाको गेटमा पुगेका आक्रोशित स्थानीय र नगर प्रहरीबीच चर्काचर्की नै भयो । छाडा चौपायाका कारण खेतीपाती जोगाउन रातिसमेत सुत्न नसकेको भन्दै स्थानीय निकै आक्रोशित भएर नगरपालिका पुगेका हुन् ।
व्यवस्थापनको माग गर्दै गाईगोरु लखेटेर नगरपालिका कार्यालयमा पुगेका स्थानीयले जनप्रतिनिधिलाई भेट्नसमेत नपाएको गुनासो गरेका छन् । नगर प्रमुख र उपप्रमुखलाई भेट्न खोजे पनि उनीहरुले कसैलाई भेटन पाएनन् । ‘भोट माग्दा हामी छाडा चौपाया व्यवस्थापन गर्छौं भन्दै हात जोड्दै घर घरमा आउँथे, अहिले हामीले भेट्नसमेत नपाउने ?,’ भीमदत्त–१६ का गणेश विष्टले भने, ‘पुसको चिसो रातमा खेती जोगाउन अनिँदो बस्नुपरेको छ, जनप्रतिनिधिलाई कुनै वास्ता छैन ।’ उनका अनुसार छाडा चौपायाका कारण खेतीमात्रै नोक्सान भएको छैन सडक दुर्घटनासमेत बढेका छन् ।

निर्माणाधीन मझगाउँ विमानस्थलमा विभिन्न क्षेत्रबाट ल्याएको गाईगोरु छाडिने र तिनै पछि स्थानीयका खेतबारीमा जाने गरेको विष्ट बताउँछन् । उनका अनुसार दिनभरि विमानस्थलमा बस्ने चौपाया राति खेतमा पस्छन् । ‘अधियाँमा गहुँ लगाएको, गाईगोरुले चरेर केही बाँकी राखेनन्,’ भीमदत्त–१२ की राजमति चौधरीले भनिन्, ‘तारबार हाल्न पैसा छैन, राति नसुतेर पनि खेती जोगाउन सकिएन ।’ उनले चौपाया छाड्नेलाई कारबाहीसँगै छाडिएकालाई व्यवस्थापन गर्नुपर्ने बताइन् ।
स्थानीय तहका जनप्रतिनिधिका लागि अहिले छाडा चौपायाको व्यवस्थापन ठूलो चुनौती बनेको छ । यसका लागि बर्सेनि ठूलो बजेट खर्च पनि भइरहे पनि दिगो रुपमा व्यवस्थापन हुने सकेको छैन । जसका कारण समस्या विकराल बन्दै गएको छ ।
स्थानीय तहको होस् वा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन जुनसुकैमा पनि यो प्रमुख चुनावी एजेन्डासमेत बन्न थालेको छ । तर निर्वाचनका बेला जसरी पनि व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारहरु अहिले भने यसलाई बेवास्ता गरिरहेको स्थानीयको आरोप छ । भीमदत्त नगरपालिकाले यस वर्षमात्रै छाडा चौपाया व्यवस्थापनका लागि १ करोड रुपैयाँको अक्षय कोष बनाउने घोषणा गरेको छ । यसैगरी विभिन्न ठाउँमा गौशाला पनि निर्माण गर्ने योजना रहेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्