महेन्द्रनगर । आजबाट कञ्चनपुरको महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएकाे छ । सुदूरपश्चिम खेलकुद परिषदले आयोजना गरेको उक्त प्रतियोगितामा विभागीय टाेलिहरुले विजयी सुरुवात गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे विभागीय टाेलिले विजयी सुरुवात गरेका हुन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–० को सेटले पराजित गरे ।
त्यस्तै तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता अन्तरगत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बीचको खेल बेड लाइट का कारण स्थगित भएको छ । प्रतियोगिताको उद्घाटनपछि आइतबार साँझ सुरु भएको खेल बेड लाइटका कारण १ –१ को बराबरीमा स्थगित आयोजकले जनाएको छ ।
उनिहरुबिचकाे खेल दुबै टिमसँग सल्लाह गरेर बाँकी खेल खेलाइने छ ।
तिन खेल सकिएपछि प्रतियोगिताको उद्घाटन गरिएको थियो । जसका लागि परराष्ट्रमन्त्री एनपी साउद कञ्चनपुर पुगेका थिए । प्रतियोगिता माघ १४ बाट माघ २० सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सातै प्रदेशका सात र तीन विभागीय गरी १० टिमले भाग लिने बताइए छन। प्रतियोगितामा भाग लिन देशभरबाट तीन सयभन्दा बढी खेलाडी, अफिसियल र अन्य व्यक्तिको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई चार लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै, खेलका विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ७० हजार रुपैयाँको दरले पुरस्कृत पनि गरिने छ।