कैलाली-कञ्चनपुरका सहकारी व्यवस्थापकलाई सम्पत्ति दायित्व व्यवस्थापनबारे तालिम

महेन्द्रनगर । कैलाली र कञ्चनपुरका सहकारीहरुका व्यवस्थापकहरुको लागि सम्पत्ति व्यवस्थापन दायित्व सम्बन्धि दुई दिने तालिम शुक्रबारदेखि सुरु भएको छ । को-अपरेटिभ म्यानेजर्स क्लबले राष्ट्रिय सहकारी बैंकको आयोजना गरेको तालिममा दुबै जिल्लाका ४० बढी सहकारीका व्यवस्थापक÷प्रबन्धकहरु सहभागी भएका छन् ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी बद्री कुमार गुरागाईले तालिम उद्घाटन गरे । उनले बैंकले पूर्व पश्चिम नहेरी कर्जा दुरुपयोग नहुने गरी लगानी गर्ने बताए ।
‘सहकारीले कसरी कर्जा लगानी गर्नु पर्छ, त्यसमा हामी सबै क्लियर नै छौ, विना धितो कर्जा दिनु हुँदैन भन्ने कुरा छैन, पूर्व र काठमाडांै जस्तो पनि भनेका छैनौ’ उनले भने,‘विना धितो लगानी गर्न सकिन्छ, उप समितिले के भन्छन, त्यसका आधारमा अघि बढ्न सकिन्छ, पूर्व पश्चिम भन्ने कुरा नै आउँदैन ।’

सहकारी बैंकले ऋण लगानी भएपछि त्यसको सदुपयोग हुनु पर्ने कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दैै उनले दुरुपयोग गर्न नहुने बताए ।
बैंकले सहकारी ऐनमा साना सहकारीलाई लगानी अधिकार छाड्नु पर्ने र ठूलालाई अनुशासित बनाउनु पर्ने जोड दिएर सुझाव दिएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक दशरथ भण्डारीले अहिले सहकारी संस्थामाथि चौतर्फी आक्रमण बढेको उल्लेख गर्दै आफ्नो सहकारी आफैंले जोगाउनु पर्ने अवस्था आएको बताए ।
सहकारी बैंकले सहकारी संस्थाको निक्षेप संकलन गरी सोही अनुसार जिल्लामा लगानी गर्नु पर्नेमा ६० प्रतिशत रकम बाहिर लगानी भएको सञ्चालक भण्डारीले बताए ।
बोर्डका सञ्चालक भण्डारी सहकारी संस्थामा नेताहरुको वर्चश्व भएको उल्लेख गर्दै सहकारी संस्थालाई निष्पक्ष हाँक्न सक्ने जनशक्ति आउन नसकेको बताए ।

राष्ट्रिय सहकारी महासंघमा पैसाका लागि जाने प्रवृत्ति हावी भएको उल्लेख गर्दै उनले सहकारी महासंघ सहकारी संस्थाको पक्षमा हुनु पर्ने बताए ।
विशिष्ठकृत सहकारी संघका अध्यक्ष एबम् उदयदेब बहुउद्देश्यीय सहकारीका संस्था लि. का प्रमुख कार्यकारी गणेश बहादुर चन्दले सहकारीमाथि चारैतिरबाट आक्रमण भएकाले वर्तमान अवस्थामा सहकारी संस्थाहरु जटिल अवस्थामा भएको बताए । ‘यस्तो अवस्थामा तालिम गरिएको छ, यसले केही न केही रुपमा सहयोग गर्छ’ उनले भने ।
सहकारी बैंकले धितो विना कर्जा दिने रोकेकोमा चन्दले असन्तुष्टि व्यक्त गरे । उनले सहकारीका ऐन नियम बाहिर गएर सञ्चालन गर्दा समस्या देखिएको उल्लेख गरे ।
कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिह भाटले सहकारी संस्थाका लागि आगामी वर्षभित्र कर्जा सूचना केन्द्र र ऋण अशुली प्राधिकरण स्थापना गर्न पर्नेमा जोड दिए ।
भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले सहकारी संस्थाप्रति वितृष्णा फैलाउने अभियान सञ्चालन भएको उल्लेख गर्दै त्यस विरुद्ध सशक्त भएर उभिनु पर्नेमा जोड दिए ।

‘सहकारीमाथि अहिले चुनौती आएको छ, त्यसलाई चिरेर जानु पर्ने अवस्था छ । अहिले सहकारीप्रति वितृष्णा फैलाउने अभियान नै चलेको छ’ उनले भने,‘यो तालिमले सहकारीलाई व्यवस्थापन गर्ने कुरामा सहयोग पुग्छ ।’
सहकारीका व्यवस्थापक र सञ्चालकको असल नियतले काम गरे समस्या नहुने उल्लेख गर्दै उनले सरकारको सहकारीलाई हेर्ने दृष्टिकोण सही नभएको खरेलको भनाई थियो ।
सहकारी संस्थाका लागि पाँच तारे होटेलमा सञ्चालन हुने तालिमप्रति आक्रोश पोख्दै खरेलले ती तालिममा भात खाने बाहेक अन्य उपलब्धि नहुने बताए ।
उनले सहकारीका तालिम होटेलका हलमा नभएर सहकारीका हलमा गराउनु पर्ने बताए ।
भीमदत्त नगरपालिकाको सहकारी शाखाका प्रमुख बिमला भाटले नगरपालिकाले सहकारीहरुका लागि दुई वर्षसम्म तालिम सञ्चालन समेत गर्न नसकेको उल्लेख गर्दैै आगामी दिनमा क्षमता अभिवृद्धिका कार्यक्रम गरिने बताइन् ।
को अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष सुनिल कुमार सेठीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै सेठीले तालिमबाट सहकारी संस्थाका व्यवस्थापकहरुको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनले सहकारी बैंकले पनि धितो विना ऋण नदिने गुनासो सहकारीबाट आएको उल्लेख गरे ।
क्लबका सचिव मदनराज भट्टले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी गुरागाई र बल्लभ तिमल्सेना प्रशिक्षक छन् ।
तालिममा सहकारी व्यवस्थापन, चुनौती, वासलात, आय विवरण, सम्पत्ति दायित्व व्यवस्थापन, तरलता व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइने म्यानेजर्स क्लबका अध्यक्ष सेठीले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्