इलाम–२ उपनिर्वाचन: एमाले र रास्वपा घरदैलोमा, कांग्रेस र माओवादी अन्योलमा

विराटनगर — इलाम–२ मा वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाएका दलहरू चुनावी प्रचार र घरदैलोमा पुग्न थालेका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पहिचान पक्षधरका उम्मेदवारले चुनावी प्रचार सुरु गरेका छन् भने संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र सत्तारूढ माओवादी केन्द्रले हालसम्म उम्मेदवारको नाम टुंग्याउन सकेका छैनन् ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा सत्तारूढ एमालेले नेम्वाङका छोरा ३२ वर्षीय सुहाङलाई उम्मेदवार बनाएर प्रचारप्रसार अभियान थालिसकेको छ । चैत १५ देखि नै टोलभेला, भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिइएको एमाले इलामका सचिव उमेश गुरुङले बताए ।
कोशी प्रदेशका पहाडी जिल्लामा संगठन विस्तार गरिरहेको रास्वपाले चैत १७ मा इलाम चोकबजारमा औपचारिक रूपमा उम्मेदवारको घोषणा गर्दै चुनावी अभियान सुरु गरेको छ । रास्वपाले पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएर चुनाव केन्द्रित गतिविधि सुरु गरेको हो । यसअघि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका लिम्बूले रास्वपाबाट टिकट पाएसँगै भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा माई जोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित राई पनि राजनीतिक भेटघाटमा व्यस्त छन् । यता राप्रपाले आफूनिकट विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएर प्रचार अभियान थालेको छ । यस्तै कोशी प्रदेशको नाममा असहमति जनाउँदै आन्दोलनमा रहेको किरात याक्थुङ चुम्लुङसहितका घटकहरूले उम्मेदवार बनाएका डकेन्द्र थेगिम दुई सातादेखि इलाममै छन् । जनमत पार्टीका तर्फबाट प्रेमदीप थाम्सुहाङले उम्मेदवारी दिने चर्चा चलेको छ ।
कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ । आकांक्षीको नाम प्रदेश समितिमा पठाइए पनि हालसम्म टुंगो लागेको छैन । तत्काल कायकर्ता भेटघाट र सांगठनिक कामलाई निरन्तरता दिएको कांग्रेसले नाम टुंगो लागेर आएपछि भने चुनावी अभियानलाई तीव्रता दिने जनाएको छ ।
निर्वाचन क्षेत्रीय कार्यसमितिबाट जिल्ला हुँदै प्रदेशमा पुगिसकेको नाम त्यहाँ पनि टुंगो नलागे केन्द्रीय समितिबाट टुंगो लागेर आउने कांग्रेस इलाम–२ का क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोको भनाइ छ ।
सत्तारूढ माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ सोमबारभित्रै उम्मेदवार टुंगो लगाउने बताउँछन् । ‘जिल्लाबाट सिफारिस भएर आएका चार जनामध्ये २ जनाले नाम फिर्ता लिन सहमति जनाउनुभएको छ, अब २ जना आकांक्षी मात्रै रहेकाले उहाँहरूबीच सहमति जुटाएर नाम सार्वजनिक गर्छौं,’ उनले भने । उनका अनुसार अहिले उम्मेदवार बन्न इच्छा देखाएका धीरेन्द्र शर्मा र ओमबहादुर गुरुङबीच सहमतिको प्रयास भइरहेको छ ।
२०७९ को निर्वाचनमा अहिले सिफारिसमा परेका कांग्रेस सभापति खड्का यो क्षेत्रको उम्मेदवार थिए । उनी एमालेका नेम्वाङसँग १ सय १४ मतान्तरले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यस बेला कांग्रेस र माओवादीको गठबन्धन थियो । यस पटक सत्ता समीकरण फेरिए पनि एमाले र माओवादीले गठबन्धन गरेका छैनन् । यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार १ सय ५३ र रास्वपाले ४ हजार ६ सय ८६ मत पाएका थिए । यस पटक कांग्रेस, एमाले र माओवादीका आ–आफ्नै उम्मेदवार रहनुका साथै रास्वपा र पहिचान पक्षधरहरूले पनि प्रभाव बढाउँदै लगेकाले चुनावी प्रतिस्पर्धा रोचक हुने स्थानीयको ठम्याइ छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्