मझगाँउ विमानस्थलको निर्माण कार्य  पुनः सुचारुका लागि नागरिक स्तरबाट दबाव थालिदैँ

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माणाधिन मझगाँउ विमानस्थलको निर्माण कार्य  पुनः सुचारु गर्न नागरिक स्तरबाट दबाव थालिएको छ । मझगाँउ विमानस्थल सञ्चालन समितिको नेतृत्वमा अवरुद्ध रहेको निर्माण कार्य पुनः सञ्चालनका लागि नागरिक स्तरबाट दवाबमुलक कार्यक्रम घोषणा गरिएको छ । मझगाँउ विमानस्थल सञ्चालन समितिको आइतबारको बैठकले सोमबार दिउँसोदेखि जनसहभागितामा अवरुद्ध कामलाई अघि बढाउने निर्णय गरेको छ ।
नेपाली सेना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले अवरोध गरेको भनिएको निर्माण कार्यलाई नागरिकसहितको उपस्थितमा निर्माण कम्पनीले पुनः सुचारु गर्ने तयारी गरेको छ । मझगाँउ विमानस्थल सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले विकास निर्माणमा सरकारी निकायबाटै अवरोध सिर्जना हुने अवस्था आएपछि स्थानीयलाई उपस्थितिका लागि आग्रह गरेको बताए । ‘विमानस्थलको काम रोकेको करिब एक वर्ष भयो, तर कहिकतैबाट पहल भएन अब जनताकै उपस्थितिमा रोकिएको स्थानदेखि काम सुरु गछौँ, ‘उनले भने, ‘अब यो विकासको अभियानमा कुन दल, जनप्रतिनिधीले साथ सर्मथन दिन्छन ।’
मझगाँउ विमानस्थल सञ्चालन समितिका संचार संयोजक ज्ञानेन्द्र महताले सेनाले निकुञ्जको जमिन आफ्नो नाममा गराउँदा निकुञ्ज मौन रहेको भन्दै अहिले विकासको काममा सेना अघि सारेर अवरोध गरिरहेको बताए । ‘यहाँ नीति भन्दा नियत नै खोट देखिएको छ, ‘उनले भने, ‘निकुञ्जले हुलाकी सडक, बेलौरी कलुवापुर सडकदेखि विमानस्थल निर्माणमा
अवरोध गरेको छ ।’ मझगाँउ विमानस्थल संचालन समितिका अध्यक्ष राजेन्द्र चन्दले सरकारी निकायबिच हुने समन्वय अभावले विमानस्थलको काम रोकिएको भन्दै अब जनता अघि सारेरै भएपनि काम गरिने जिकिर गरेका छन । त्रिपक्षीय साझेदारीमा निर्माण भईरहेको यस आयोजना पुनः सुचारुका लागि नागरिक दबाव आवश्यक रहेको दोधराचाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेतले बताए ।
उनले नगरपालिकाहरुले आफ्नो जिम्मेवारी बहनका लागि सक्षम रहेको बताउँदै संघ र प्रदेश सरकारको मुख्य भुमिका निभाउनु पर्ने औल्याए । यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले मझगाउँ बिमानस्थलको कामलाई अगाडी बढाउन चाँसो नदीएको उनको भनाई छ । साथै सुख्खा बन्दरगाह र बिमानस्थल निर्माणका लागि नागरिक स्तरबाट हुने दबाव मुलक कार्यक्रममा दोधराचाँदनीबासिको सक्रिय सहभागी रहने समेत उनले बताए । कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः निर्माणका लागि ठेक्का दिइएको दुई वर्ष बितिसक्दा पनि प्रक्रियागत अल्झनका कारण प्रभावित बनेको नागरिक उड्डयन प्राधिकरणको बताउँदै आएको छ । जग्गाको स्वामित्व प्राप्त गर्नुअघि यहाँ वातावरणीय प्रभाव मूल्यांकन (इआईए) का लागि पहल थालिएको लामो समय बितिसक्दा पनि काम हुन सकेको छैन । विमानस्थल सञ्चालन समितिले भने पुरानै विमान स्थल पुनः सञ्चालनको योजना भएकाले ईआईए आवश्यक नपर्ने तर्क गदैँ आएको छ ।
मझगाउँ बिमानस्थल सञ्चालनका लागि भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको छ । 
तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम केएस उमा एण्ड कम्पनीसँग रु ४५ करोड ६६ लाखमा सम्झौता भएको छ । निर्माणको समयावधि आगामी पुस महिनासम्म छ । पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायत काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ। विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल संटकालका बेला सुरक्षाको
कारण देखाउँदै बन्द गरिएको थियो  । मझगाउँ विमानस्थल निर्माणलाई पर्यापर्यटनको विकाससँगै कञ्चनपुरको समृद्धिमा ठुलो टेवा पुग्ने योजनाको रुपमा हेरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्