भीमदत्त नगरपालिकाको बेरुजू १० करोड ७० लाख, असुल गर्नुपर्ने मात्रै ५२ लाख बढी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कानुनी पक्रिया पुरा नगरि १० करोड ७० लाख ५९ हजार रुपयाँ खर्च गरेको पाईएको छ । महालेखाको अन्तिम लेखापरिक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९।८० भीमदत्तमा उक्त रकम बेरुजू देखिएको हो । महालेखाको प्रतिवेदनमा ५ करोड ८२ लाख ८१ हजार नियमति गर्नु पर्ने बेरुजुमा देखिएको छ । भने प्रमाण कागजात पेश गर्नुपर्ने ४ करोड ३४ लाख ३९ हजार बरुजू रहेको छ । त्यस्तै असुल गर्नुपर्नेमा ५२ लाख ३६ हजार रुपयाँ बेरुजू रहेको महालेखाले उल्लेख गरेको छ ।
भीमदत्तमा हालसम्म रीत नपुगाएर गरिएको खर्च (बेरुजु) ३५ करोड नाघेको छ । यो अघिल्लो वर्ष २०७८\७९ सम्म २६ करोड थियो । गत वर्ष १० करोड ७१ लाख बेरुजु थपिएपछि हालसम्म बेरुजु ३५ करोड ३९ लाख बेरुजु पुगेको हो । महालेखाको लेखा परीक्षण प्रतिवेदनमा ५२ लाख २६ हजार अशुल गर्न पर्ने र ५ करोड ८२ लाख नियमित गर्नु पर्ने बेरुजु उल्लेख छ ।महालेखाले १० लाख ३ हजार पेश्की फस्र्यौट गर्नु पर्ने बेरुजू पनि प्रतिवेनमा समावेश गरेको छ । गत वर्ष २ लाख ६७ हजार बेरुजु फस्र्यौट भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विद्युत महसुल १ लाख ७३ हजार ६ सय ७८ रुपैँया नियमित नभएको बेरुजुमा राखिएको हो । कार्यायले ढिलो गरी महसुल बुझाउँदा जरिवना वापत तिरेको रकमलाई अनियमितमा बेरुजुमा राखिएको छ ।
महालेखाले प्रधानमन्त्री रोजगार कार्यक्रम, सेनीटरी प्याड खरिद, न्योनो झोला कार्यक्रम, लुघ उद्यम कार्यक्रम, औषधी खरिद तथा भण्डारण, उप प्रमुख गरिब विपन्न सहयोग कार्यक्रम लगायतका कार्यक्रममाथि प्रश्न उठाएको छ ।
महालेखाले दररेट पेश गरी सोझै सम्झौताका आधारमा भुक्तानी दिइएको उल्लेख गरेको छ । सवारी साधनको बीमा नविकरणको ८७ हजार ६ सय रुपैँया पनि नियमित गर्नु पर्ने बेरुजुमा समावेश गरिएको छ । सडक कालोपत्रे र सडक स्तरोन्नतिको भेरिएसन आदेशबाट भएको कामको रकममा पनि बेरुजु आएको छ ।
उपभोक्ता समितिसित सम्झौता गरी निर्माण व्यवसायीबाट गरिएका कामको भुक्तानी पनि अनियमति खर्चमा राखिएको छ । एचएम एग्रिकल्भर एण्ड बोलबेल र पञ्चदेब एग्रो एण्ड बोरबेल कम्पनीले जडान गरेको बोर र स्यालो ट्युबेलको ३९ लाख ४० हजार अनियमति खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत वर्ष गरिएको अघिल्लो आर्थिक वर्षको एक करोड ९५ लाख ८८ हजार रकम नियमित गर्न पर्ने बेरुजुमा छ । महालेखालको भुक्तानी प्रमाणित नगरी अघिल्लो वर्षको भुक्तानी गरिएको प्रतिवेदनमा समावेश गरेको छ । यसमा पदाधिकारीहरुको सुविधा, विद्यालय कर्मचारीहरुको तलब, सवारी चालक, सरसफाई कर्मचारीहरुको तलब लगायतको भुक्तानी अनियमित रुपमा गरिएको छ । सवारी साधन मर्मत खर्चमा पनि अनियमित भएको महालेखाको प्रतिवेदनमा छ । सवारी साधनको वास्तविक अभिलेख नराखी सार्वजनिक खरिख ऐन पालना नगरी एक करोड ८२ लाख ८१ हजार भुक्तानी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विपिन इन्टरप्राइजेजलाई दिएको ७९ लाख ७८ हजार ३ सय ५० रुपैँया इन्धन खर्च भुक्तानी पनि नियमति गर्नु पर्ने बेरुजुमा राखिएको छ । महालेखाले भीमदत्तको ३ अर्व ४२ करोड २९ लाख २७ हजारको लेखा परिक्षण गरेको जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्