संघिय निजामती ऐन संसदबाट तत्काल पारित हुनुपर्छ: केन्द्रीय अध्यक्ष काेईराला

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ काेईरालाले संसदकाे राज्य व्यवस्था समितिमा विचाराधीन रहेकाे संघिय निजामती विधेयकलाई तत्काल अगाडि बढाउनु पर्ने बताएका छन् । शनिबार महेन्द्रनगरमा जिल्ला स्तरिय प्रशिक्षण तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बाेधन गर्दै केन्द्रीय अध्यक्ष काेईरालाले यस्ताे बताएका हुन् । उनले संघियता कार्यान्वयन गराउने मुख्य संयन्त्र नै ऐन बिहिनताकाे अवस्था हुदा समग्र क्षेत्रमा प्रभाव पर्ने बताए । उनले कर्मचारीमैत्री निजामती ऐन निर्माणका लागि संगठनले आवश्यक संसाेधन र दबावमुलक काम गरिरहेकाले सरकारले संसदबाट ऐेन जारी गर्न तदारुकता देखाउनु पर्ने बताए ।

उनका अनुसार संसदकाे राज्य व्यवस्था समितिमा रहेकाे निजामती विधेयकमा १५ सय ९३ वटा संसाेधन परेका छन् । संसाेधनमा कर्मचारीकाे वृत्ति विकास, अन्तर प्रदेश सरुवा, तिनै तहका कर्मचारीकाे सेवा सुविधामा एकरुपता ल्याउनु पर्ने लगायत विषयहरु रहेका छन् । साथै प्रदेश र स्थानीय तह कर्मचारी ऐन पनि छिटो ल्याउन उनले सरकारसँग माग गरेका छन् ।
त्यस्तै संगठनका केन्द्रीय सदस्य प्रताप चन्दले पनि आठ वर्षसम्म पनि निजामती ऐन जारी हुन नसक्नु दुखद रहेकाे बताउँदै चाँडोभन्दा चाँडाे ऐन पारित हुनुपर्ने बताए ।

त्यस्तै निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले ऐन तत्काल जारी नभए संगठनकाे केन्द्रीय निर्देशन अनुसार जुनसुकै किसिमकाे आन्दोलन गर्न कर्मचारी तयार रहेकाे बताए । ऐन जारी नहुदाँ कर्मचारीकाे वृत्ति विकास राेकिएकाे, राजनीति हस्तक्षेप हावि हुने गरेकाे र सरुवा-बढुवा समेत समस्या भईरहेकाे कर्मचारीहरुकाे गुनासाे छ ।
जिल्ला स्तरिय प्रशिक्षण तथा संगठन सुदृढीकरण कार्यक्रममा संघिय निजामती विधेयक, वर्तमान अवस्था र संगठन विस्तार तथा सुदृढीकरणसँगै कर्मचारीकाे हकहितका विषय बृहत रुपमा छलफल गरिएकाे अध्यक्ष चन्दले बताए ।

नेपाल निजामती कर्मचारी संगठनको आयोजना तथा केन्द्रीय प्रशिक्षण बिभागको सहजीकरणमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला, प्रमुख प्रशिक्षक केन्द्रीय प्रशिक्षण बिभाग प्रमुख एवं उपाध्यक्ष भवानी दहाल , प्रशिक्षक डा. हिरा चन्द ले सहजीकरण गरेको प्रशिक्षण तथा संगठन सुदृढीकरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कृपाराम राना,जिल्ला अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लबराज भट्ट , पालिका अध्यक्ष हिमाल चन्द लगायतकाे समेत उपस्थिति रहेकाे थियाे ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्