महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय बाढीले गरेको क्षति लगायत समस्याबारे जानकारी गराउन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु पालसहित नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् ।
कञ्चनपुर इन्चार्ज पालले कञ्चनपुरका समस्याबारे प्रधानमन्त्री ओलीलाई भेटेर जानकारी गराएको बताइन् । पोलिटब्युरो सदस्य पालसँगै केन्द्रीय सदस्य कमला बोहरा र सल्लाहकार परिषद् सदस्य तथा पूर्व सांसद दीपकप्रकाश भट्ट लगायत नेताहरू सहभागी थिए ।
प्रधानमन्त्रीलाई महाकाली पुल, महाकाली कोरिडोर लगायत गड्डाचौकी सीमाबाट आउँदा चेकजाँचका नाममा जनताले भोग्नुपरेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि अनुरोध गरेको इन्चार्ज पालले बताइन् ।
नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेपछि नेताहरुले जनसरोकारका विषय सम्बोधनका लागि सक्रियता बढाएका छन् ।
त्यस्तै निवर्तमान सांसद डा. दिपक प्रकास भट्टले प्रधानमन्त्रीसँगकाे भेटघाटमा कञ्चनपुर र सुदूरपश्चिमका विकासका एजेण्डासँगै कैलालीको गेटामा स्थापना गरिने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयकलाई अगाडि बढाउन आग्रह गरिएको बताए । उनले विधेयक संसद यही अधिवेशनबाट पास गरिनु पर्नु बताए ।
त्यस्तै बाढीले पुर्याएको क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माण र पिडितलाई राहत व्यवस्था गर्न पनि एमाले नेताहरुले आग्रह गरेका छन् ।