महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अवैध रुपमा कर अशुली गरिरहेको पाईएको छ । पालिकाले कानुन विपरित सडक सेवा शुल्कको नामका कर अशुली गरिरहेको पाईएको हो । स्थानीय तहले संघिय र प्रदेश अन्तरगतका सडकबाट कुनै पनि सेवा शुल्क लिन नपाउने व्यवस्था भएपनि कृष्णपुुरमा ठेक्कामार्फत कर संकलन भईरहेको छ ।
नगरपालिकाले लिडकेकोट निर्माण सेवा एण्ड सप्लायर्स प्रा.लिसँग ठेक्का सम्झौता गरि सडक सेवा शुल्क अशुली गरिरहेको छ । पालिकाले अवैध रुपमा कर संकलन गर्न थालेपछि व्यवसायी विरोध जनाएका छन् । टेक्टर तथा ढुवानी व्यवसायीले मछेली र बण्ड नदीबाट ग्राभेल ढुवानी गर्दा पालिकालाई सडक सेवा कर तिदैँ आएका छन् ।

पालिकाले मछेलीको बेलकुण्ड घाटबाट ग्राभेल उठाउँदा मालुबेला–गुलरिया–राजघाट कृषी सडकबाट कर अशुली गरिरहेको छ भने बण्ड खोलाबाट बंक–दोमिल्ला–नायल सडक अन्तरगत कर संकलन भईरहेको एक व्यवसायीले बताए ।
त्यस्तै लालझाडी जोड्ने वाणी देखतभुली कुञ्ज सडकमा पनि पालिकाले सेवा शुल्क संकलन गरिरहेको व्यवसायिको आरोप छ । नगरपालिकाले भ्याट बाहेक प्रति बस १ सय ६२ रुपयाँ, ट्रक ७७ रुपयाँ, टिप्पर १ सय ३२ र ट्याक्टर ५५ रुपयाँ, जिप १ सय १० र रोलर १ सय १० रुपयाँ सडक सेवा शुल्क तोेकेको छ ।
कानुनः स्थानीय तहले निर्माण गरेका सडकबाट मात्रै बाटो निर्माण तथा सम्भारका लागि स्थानीय निकायले सवारीसाधनबाट हरेक आवतजावतमा पटके कर लिन पाउछन । प्रदेश तथा स्थानीय तहमा लगाइएका करहरूको अध्ययन तथा विश्लेषण गरी करको उपयुक्तता एवम् कुनै समस्या भएकोमा समाधानका उपाय समेत पहिल्याउन २०७५ साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तीनसदस्यीय अध्ययन समिति गठन गरेको थियो ।
समितिले सोही वर्ष असोज ४ गते बुझाएको प्रतिवेदनले स्थानीय सरकारले उठाउने सवारीसाधन कर तथा पटके सवारी करले दोहोरो करको समस्या निम्त्याएको ठहर गर्दै यस्तो कर खारेज गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको थियो। सोही सम्बन्धमा गृह मन्त्रालयले पनि कर अशुली रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

गत कार्तिक १२ मा गहृ मन्त्रालयद्धारा प्रशित पत्रमा ‘राष्ट्रिय राजमार्ग\सहायक राजमार्गहरुमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५\०८\१७ को निर्णय भई कार्यान्वयनको लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजना सहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात उक्त कार्य रोकिएको सन्दर्भमा हाल विभिन्न स्थानीय सरकारहरुले करहरु उठाई रहेकोले उक्त कार्य रोक्न सम्बन्धित (जिल्ला प्रशासन कार्यालय) निकायहरुमा निर्देशन गरिएको छ ।’
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले पालिकोले सडक मर्मत संम्भारका लागि सेवा शुल्क उठाउने गरेकोे बताए । उनले पालिका र प्रदेश स्तरीय सडकहरुको मर्मत संम्भारका लागि सेवा शुल्कबाफत कर संलकन भईरहेको दावि गरे ।
‘सडकको मर्मतका लागि ठेक्कामार्फत कर संकलन भईरहेको छ, कर सोही सडकको मर्मतमा खर्च हुन्छ,’ नगर प्रमुख ओझाले ‘यसरी विगतदेखि नै कर संकलन हुदैँ आएको हो, कानुन विपरित भएको जानकारी भएन्, त्यस विषय थप बुझ्छु ।’