काठमाडौँ — एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । कम्युनिस्ट, गरैकम्युनिस्ट विचार अटाउने ‘उदारवादी विचारधारा’ भएको पार्टी गठन गर्ने गृहकार्यमा लागेका रावलले बुधबार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने जनाएका छन् ।
‘सम्पूर्ण देशभक्तहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दछु । आजको अभियान, भोलिको देशभक्तिपूर्ण संगठन निर्माणको आधार हुनेछ । देश र जनतासँग परामर्श गरेर अघि जाने कुरा हो,’ उनले भने, ‘देश र जनतासँग सम्बन्धित समय विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।’
उनले देशको हितको पक्षमा काम गर्ने अभियान चलाउने जानकारी दिए । ‘देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ,’ उनले भनेका छन्, ‘राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधनमात्र हुन्, देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ । राजनीतिक दल र राज्यका सबै अवयव र संयन्त्रहरु राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ ।’ उनले विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिँड्ने प्रतिबद्धता गरेका छन् ।
बउनले मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने दाबी गरे ।
