अपाईकाे अन्तराष्ट्रिय सम्मेलनमा पहिलाे पटक नेपालकाे सहभागीता

काठमाडौ । एशिया-प्रशान्त क्षेत्रका विभिन्न देशहरूको शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदानको प्रगति र सहयोग प्रवर्धनका उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था अपाईकाे (Asia-Pacific Association for International Education-APAIE) अन्तर्राष्ट्रिय सम्मेलनमा पहिलो पटक नेपालले सहभागीता जनाएको छ ।
यहि चैत्र ११ गते देखि मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा आयोजना भइरहेको एपिएआईकाे अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनीमा नेपालका तर्फबाट पहिलो पटक सहभागिता देखिएको हाे ।

सम्मेलनमा नेपालकाे तर्फवाट सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र सकायका डीन प्रा. डा. राजेन्द्र प्रसाद भट्टको नेतृत्वमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक राजेन्द्र प्रसाद जोशी, सुदूरपश्चिम विश्वविद्यालय टिकापूर बहुमुखी क्याम्पसका डा. जानु पौडेल र सुदूरपश्चिम विश्वविद्यालय जगन्नाथ बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं उपप्राध्यापक पृथ्वीराज अवस्थीको सहभागिता रहेको छ।
उक्त सम्मेलन तथा प्रदर्शनीमा ६० भन्दा वढि देशका दुई हजार पाँच सय सहभागीहरुका बीचमा उच्च शिक्षामा विश्वव्यापिकरणको महत्व, समस्या र भावी रणनीति सम्बन्धि pre-conference workshop मा समूह छलफल, प्यानल छलफल र मूख्य वक्ताहरुवाट गहन विचारहरु प्रस्तुत गरिएको छ ।
प्रदर्शनीमा नेपाल लगायत विश्वका बिभिन्न देशका २५० भन्दा वढि विश्वविद्यालय एवं उच्च शैक्षिक सेवा प्रदायक संस्थाहरु रहेकोमा सुदूरपश्चिम विश्वविद्यालयले पनि कक्ष नं R05 मा आफ्नो प्रदर्शनी कक्ष स्थापना गरी विश्वविद्यालयका गतिविधी, कार्यक्रम, अनुसन्धान प्रगती, तथा बिभिन्न जानकारीमूलक सूचना भएका ब्यानर, ब्रुसेट, जर्नल, तथा अन्य सामग्रीहरु सहित सहभागी सम्पूर्णलाई विश्वविद्यालयका बारेमा विश्वमै जानकारी गराईएकाे छ ।
सुदूरपश्चिम विश्वविद्यालयका लागि विश्वविद्यालयलाई विश्वमा चिनाउने यो पहिलो अन्तराष्ट्रिय प्रदर्शनी हो । सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र सकायका डीन प्रा. डा. राजेन्द्र प्रसाद भट्टका अनुसार यस सम्मेलन र प्रदर्शनीले नेपालको सुदुरपश्चिममा स्थापित सुदूरपश्चिम विश्वविद्यालयको वर्तमान अवस्था, यसको भुमिका, संचालित कार्यक्रम, अनुसन्धान कार्यक्रम, अन्तर्राष्ट्रिय समन्वय र सहयोगका बारेमा जानकारी एवं सुदूरपश्चिम विश्वविद्यालयलाई विश्वमा चिनाउने एक स्वर्ण अवसर नै APAIE २०२५ सम्मेलन हो।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक राजेन्द्र प्रसाद जोशीले विश्वमा भएका विश्वविद्यालयमा अध्ययन गरिहेका नेपाली विद्यार्थीहरुको अवस्था, मौका र चुनौतीमा विशेष जोड दिए । उनले एक घरका रुपमा रहेको विश्वले विश्वविद्यालय वा उच्च शिक्षण संस्थामा विश्वका मूल्यमान्यता, संस्कृती, जान सीप आदानप्रदान गर्न र विद्यार्थीहरूले बिदेशी विश्वविद्यालयमा भोगिरहेका समस्याहरु समाधान गर्न APAIE एक कोशेढुंगा बन्न विश्वास व्यक्त गरे ।
APAIE २०२५ सम्मेलनले विश्वको उच्च शिक्षामा एकरुपता ल्याउनका साथै विश्व परिवेशका प्राध्यापक र विद्यार्थीहरुका अनुषन्धान र अध्ययन अध्यापनका कार्यहरुमा विशेष समन्वय, एकरुपता र समकक्षताका कुराहरुमा पहल गरि उच्च शिक्षामा एक आदर्श तथा नविन परिवर्तन ल्याउनेमा सहभागी विश्वस्त छन् । सुदूरपश्चिम विश्वविद्यालय जगन्नाथ बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवं उपप्राध्यापक पृथ्वीराज अवस्थीले दृष्टीकोणमा पनि सम्मेलनले एशिया-प्रशान्त क्षेत्रका शैक्षिक विशेषज्ञहरुको उपस्थितिमा विभिन्न विषयमा संगोष्ठी र सम्मेलनहरु गर्ने, नयाँ शैक्षिक प्रोग्राम र अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरू प्रदान गर्ने तथा शैक्षिक संस्थाहरू र विद्यार्थीहरुलाई नेटवर्किङका अवसरहरू प्रदान गर्न पहल गर्नुका साथै शैक्षिक गुणस्तरको सुधार, र अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्धहरुको प्रवर्धनमा काम गर्न कार्ययोजना बनाउन सफल हुने विचार व्यक्त गरे ।

APAIE २०२५ सम्मेलन २०८१ चैत्र ११ गते देखी १५ गते सम्म भारतको राजधानी नयां दिल्ली स्थित यशोभूमी अन्तराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र (IICC) मा चल्ने छ ।
सम्मेलनमा एशिया-प्रशान्त क्षेत्रका शैक्षिक संस्थाहरु, विद्यार्थीहरु, र शिक्षाविद्हरु एकत्रित भएर अन्तर्राष्ट्रिय शिक्षा, अनुसन्धान, र शैक्षिक नौतिहरूमा छलफल हुनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्