
कञ्चनपुर, साउन २६ – गुरुपूर्णिमाको पावन अवसरमा कञ्चनपुर जिल्ला सितोरियो कराँते संघले महेन्द्रनगरस्थित कभर हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै कराँते परिवारसँग भव्य रूपमा गुरुपूर्णिमा मनाएको छ।
कार्यक्रममा कराँते प्रशिक्षक वीरेन्द्र बहादुर चन्द, कञ्चनपुर कराँते महासंघका अध्यक्ष सरोज बैज, तथा सुदूरपश्चिम सितोरियो कराँते संघका अध्यक्ष यज्ञराज बैजको विशेष उपस्थितिमा गुरु–शिष्य परम्परालाई सम्मान गर्दै विविध गतिविधिहरू सञ्चालन गरियो।
कराँते प्रशिक्षार्थी, अभिभावक तथा संघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा गुरुजनहरूलाई फूलमाला, अबिर र सम्मानपत्रद्वारा सम्मान गरियो। प्रशिक्षक चन्दले कराँते केवल खेल नभई आत्मअनुशासन र संस्कारको माध्यम भएको बताए।

कार्यक्रममा नयाँ खेलाडीहरूको स्वागत गरिनुका साथै पुराना खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
अध्यक्ष सरोज बैजले गुरुपूर्णिमा जस्ता पर्वहरूले खेलकुदमा संस्कार र अनुशासनको विकास गर्न सहयोग गर्ने बताए। सुदूरपश्चिम कराँते संघका अध्यक्ष यज्ञराज बैजले गुरुशिष्य परम्पराको संरक्षण मार्फत खेलकुद क्षेत्र अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
कार्यक्रमले कराँते खेलमार्फत सामाजिक एकता, सम्मान र संस्कारको सन्देश फैलाएको सहभागीहरूले बताएका छन्।
