
धनगढी — सुदूरपश्चिम कराते महासंघले १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कीर्तिमान कायम गरेको छ । साथै हालै श्रीलंकामा सम्पन्न नवौं दक्षिण एसियाली कराते प्रतियोगितामा पदक विजेता सुदूरपश्चिमका खेलाडीहरूलाई नगदसहित सम्मान गरिएको छ ।
धनगढीमा सम्पन्न कार्यक्रममा कराते महासंघका अध्यक्ष त्रिलोक्यनाथ पाण्डे, नेपाल कराते महासंघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय कराते खेलाडी मकेन्द्र बहादुर सिंह, कैलाली खेलकुद विकास समितिका हाकिम आश्रम केसी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सदस्य सचिव लोकबहादुर खड्का (रवि) ले प्रदेशका लागि पदक जितेर गौरव बढाउने खेलाडीहरूलाई नगदसहित सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा सहभागी वक्ताहरूले सुदूरपश्चिमका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा व्यक्त गरेका थिए ।
खेलाडीहरूलाई प्रोत्साहनस्वरूप गरिएको सम्मानले प्रदेशमा खेलकुदको विकास र खेलाडीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरिएको छ ।