
नेपालका अनुसन्धानकर्ता डा. राजेन्द्र पन्तले( Phd) भारतकी डा. गीता अरोरासँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित जर्नल International Journal of Mathematics and Computational Frontiers (IJMCF) मा आफ्नो अनुसन्धान लेख प्रकाशित गर्न सफल भएका छन्।
“Comparative Study of Numerical Solution of Time-Fractional Diffusion Equation via ERPSM and LRPSM” शीर्षकको यस अनुसन्धानमा समय–अंशीय प्रसारण समीकरण (Time-Fractional Diffusion Equation) समाधान गर्न प्रयोग गरिने दुई उन्नत संख्यात्मक विधि—Elzaki Residual Power Series Method (ERPSM) र Laplace Residual Power Series Method (LRPSM)—को तुलनात्मक अध्ययन गरिएको छ।
यस प्रकारका अंशीय अवकल समीकरणहरू ताप स्थानान्तरण, द्रव प्रवाह, भिस्कोइलास्टिक पदार्थ तथा भौतिक तथा इन्जिनियरिङ क्षेत्रमा देखिने जटिल प्रक्रियाहरूको गणितीय मोडलिङमा अत्यन्त महत्वपूर्ण मानिन्छन्। अनुसन्धानले दुवै विधि प्रभावकारी, भरपर्दा तथा सटीक रहेको निष्कर्ष निकालेको छ।
राजेन्द्र पन्त सुदूरपश्चिम विश्वविद्यालय, कञ्चनपुरको केन्द्रीय सामान्य विज्ञान विभागसँग आबद्ध छन् भने सह–अनुसन्धानकर्ता डा. गीता अरोरा लभली प्रोफेशनल युनिभर्सिटी, भारतको गणित विभागसँग आबद्ध हुनुहुन्छ।
उक्त लेख २०२५ नोभेम्बर २८ मा प्राप्त, डिसेम्बर १९ मा स्वीकृत भई डिसेम्बर ३० मा औपचारिक रूपमा प्रकाशित गरिएको हो।
यो उपलब्धिले नेपाली अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय शैक्षिक पहिचानलाई थप मजबुत बनाएको छ भने गणित तथा कम्प्युटेशनल विज्ञान क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

