दार्चुला — दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा परी एक जनाको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ ।
दुहु गाउँपालिका–१ बासपालिकामा पहिरोले घर पुर्दा स्थानीय नरसिंह महरको मृत्यु भएको छ । उनकी पत्नी बेपत्ता छिन् । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरू पुरिएका हुन् ।
स्थानीय प्रेमराज जोशीका अनुसार सोही गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डँडाल बेपत्ता छन् । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डँडाललाई घरैसहित बगाएको हो । घटनामा उनकी पत्नी उजेली घाइते छिन् ।
सोही ठाउँका अर्का स्थानीय जनकराम पार्कीको घाइते अवस्थामा उद्धार गरिएको छ । बाढीमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेका छन् ।
त्यस्तै वडा नम्बर ३ नबर निजमगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजमगड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्कीलाई बगाएको हो । कार्की दाजुभाइले पसल सञ्चालन गर्दै आएका थिए ।
स्थानीय भोजराज जोशीका अनुसार सोही बाढीले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुइटा झोलुंगे पुल र एउटा पसल बगाएको छ । पुल बग्दा दुहु र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।
निजमगाड खोलाकै बाढीले महाकाली नगरपालिका–१ सिरिबगरका तीनवटा घर र एउटा पसल बगाएको छ । सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर बेपत्ताहरूको खोजी गरिरहेका छन् ।