महेन्द्रनगर । भीमदत्त नगरपालिका–१८ को नव निर्मित वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । सालघारीस्थित वडा कार्यालयले भवन निर्माण सकिएपछि सोमबार भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले उद्घघाटन गरेका हुन् । कार्यालय भवन उद्धघाटन गदैँ नगर प्रमुख विष्टले वडा कार्यालय भवनबाट वडा वासिन्दालाई सहज र व्यवस्थित रुपमा सेवा प्रवाह गर्न सहज हुने बताए ।

‘स्थानीय तह निर्वाचनमा सिहदरबारको अधिकार घर घरमा पुगाउने वाचा गरेका थियौ, सबै वडामा वडा कार्यालय बनाउने कुरा अघि बढायौ’ नगर प्रमुख विष्टले भने,‘सहज, व्यवस्थित रुपमा सेवा प्रवाह गर्न सहज हुन्छ, सबै यसै वर्षभित्र नयाँ भवन बनाउँछौ ।’
नगर प्रमुख विष्टले नगरपालिकाको समानुपातिक विकासको अवधारणा अनुसार विकास निर्माणका कार्य अघि बढेको उल्लेख गर्दै भने, ‘चुनाव लड्दै गर्दा विकासको मूल फुटेको कुरा पनि सुनिएको थियो, विकास गर्न केही बाँकी पनि छैन भन्ने गरिएको थियो, त्यसो रहेनछ, चुनावमा जितेर आएपछि केही गर्न खोजेका छौ ।’

स्थानीय तह निर्वाचनमा गरिएको प्रतिवद्धता अनुसार भीमदत्त नगरपालिकाका सबै वडामा वडा कार्यालयका भवन निर्माण गर्न थालिएको छ । १८ नम्बर वडा कार्यालय सहित हालसम्म सात वडाका नयाँ भवन निर्माण गरिएका छन् । तीमध्ये अधिकाँश वडाका भवनसंगै सामुदायिक भवन पनि निर्माण गरिएका छन् । १८ नम्बर वडामा दुई तले नयाँ भवनसंगै मनमोहन स्मृति सामुदायिक भवन निर्माण गरिएको छ । वडा कार्यालय नजिक निर्माण गरिएको जिम खाना पनि उद्घाटन गरिएको छ ।

एक करोड ६० लाखमा बनेको वडा कार्यालय भवनका लागि गत वर्ष ठेक्का दिइएको थियो । एक वर्षको म्याद सकिन दुई महिना अघि नै एमके निरज कम्पनीले भवन निर्माण गरिएको छ । भवन निर्माण उद्घाटन कार्यक्रममा भीमदत्त नगरपालिकाका पूर्व उप मेयर ईश्वरी प्रसाद खरेलले स्थानीय तह निर्वाचनमा गरिएका वाचा अनुसर वडा कार्यालय भवन बनाउन वडा वासिन्दाका लागि गौरबको विषय भएको बताए ।

‘यो नयाँ भवनबाट जनतालाले घर आँगनबाट सेवा सुविधा पाउँछन्, यो वडा वासीका लागि ठूलो उपलब्धि हो’ उनले भने । भीमदत्त नगरपालिका ६ का अध्यक्ष हरक सिह धामीले विश्वविद्यालय, विज्ञान क्याम्पस, महाकाली प्रादेशिक अस्पताल लगायतका ठूला पूर्वाधार भएको वडा भएको उल्लेख गर्दै स्थानीय तह निर्वाचनपछि वडाले पूर्वाधार निर्माण लगायतका क्षेत्रमा प्रगति हासिल गरेको बताए । भीमदत्त नगरपालिका ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराले स्थानीय तह निर्वाचनपछि नगरपालिकाले सबै वडाका कार्यालय भवन बनाउने लक्ष्य अनुसार निर्माण अघि बढाएको बताए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले वडा कार्यालयको नव निर्मित भवनबाट वडा वासिन्दाले सहज रुपमा सेवा लिने बताए । भीनपा १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेयको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा सदस्य नारद सुनारले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा कोरोना महामारी संक्रमणमा वडा कार्यालयलाई सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ । वडा कार्यालयले कोरोना महामारी न्यूनीकरणमा खटिएका महिला स्वास्थ्य स्वयम् सेविकालाई पनि सम्मान गरिएको छ । वडा अध्यक्ष पाण्डेयले जनसंख्या र भूगोलका कारण ठूलो वडा भएको उल्लेख गर्दै स्थानीय तह निर्वाचनपछि देखिने प्रगति हासिल गरिएको बताए ।

ज्येष्ठ नागरिक समाजका होम बहादुर कुँबरले वडा कार्यालय भवन निर्माणले वडा वासिन्दालाई सेवा सुविधा पाउन सहज हुने बताए । वडा सचिव नरेन्द्र भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।