अरुण तेस्रोका मजदुर बोकेको मिनी ट्रक संखुवासभामा दुर्घटना, एक जनाको मृत्यु, १० घाइते

विराटनगर: संखुवासभामा अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर बोकेको मिनी ट्रक शनिबार राति दुर्घटनामा परेको छ।

सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए। उनका अनुसार दुर्घटनामा अरुण तेस्रोका १० जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

नुमबाट सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नम्बरको मिनी ट्रक चिचिला गाउँपालिका–१ पात्तलमा दुर्घटनामा परेको एसपी खतिवडाले बताए। उनका अनुसार सडकबाट लगभग सय मिटर तल खसेको थियो।

दुर्घटनामा चालक धनकुटा घर भएका अन्दाजी ३० वर्षीय जनक पाण्डेको मृत्यु भएको हो।

दुर्घटनामा परेको ट्रकले किचेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकले किचिरहेको अवस्थामा शव बाहिर निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

जलविद्युत् निर्माणको सामग्री लिएर नुमको फ्याक्सिन्दा पुगेपछि फर्कने क्रममा ट्रकमा अरुण तेस्रोका मजदुर सवार रहेको जानकारी एसपी खतिवडाले दिए।

घाइते १० जनामध्ये आठ जना जलविद्युत् आयोजनामा काम गर्ने भारतीय नागरिकहरु हुन्। दुर्घटनामा भारतीय नागरिक ३२ वर्षीय राहुल मालकर, २४ वर्षीय मौतुन राय, १८ वर्षीय रक्की कुमार, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार घाइते भएका छन्।

त्यस्तै दुर्घटनामा संखुवासभाकै खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक र खाँदबारी–७ का २९ वर्षीय बलु मगर पनि घाइते भएका छन्। घाइते सबैको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि रक्की, बलु र राहुललाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ।

यसैबीच पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–८ मा ट्रकको ठक्करबाट साइकल यात्री एक महिलाको मृत्यु भएको छ। पश्चिमतर्फ आउँदै गरेको प्र २–०३–००१ ख ४२३० नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको साइकललाई राति ठक्कर दिँदा ३६ वर्षीया सुनिमा राई (लिम्बू)को मृत्यु भएको एसपी खतिवडाले बताए।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी महिलाको उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पतालतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। ट्रक र चालक चितवन राप्ती नगरपालिका–१ का ३१ वर्षीया प्रवीण लामालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्