अमेरिकामाथि नेपालको ऐतिहासिक जित

काठमाडौँ — कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतक बनाएपछि नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा अमेरिकामाथि ५ विकेटको सानदार विजय हात पारेको छ । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २ सय ३१ रनको लक्ष्य ४९ ओभरमा पूरा ग¥यो ।

अमेरिकामाथि नेपालको लगातार तेस्रो जित हो । लिग २ को पछिल्लो शृंखला २०२० को फेब्रुअरीमा काठमाडौंमा हुँदा नेपालले अमेरिकालाई ३५ रनमै अलआउट गरेको थियो, जुन एकदिवसीय अन्तर्राष्ट्रियकै न्युन स्कोर पनि हो । काठमाडौंमा नेपालले अमेरिकाविरुद्धका दुवै खेल जितेको थियो ।

ओमानमा जारी लिगमा कुशलले आफ्नो पहिलो अर्धशतक बनाउनेक्रममा ९३ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रोहितले ८७ बलको इनिङ्समा २ चौका र ३ छक्का प्रहार गरे । पपुवा न्युगिनीसँगको दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा क्रमशः ४१ र ८६ रनको इनिङ्स खेल्दै रोहित अमेरिकासँगको खेलमा उत्रिएका थिए ।

म्यान अफ द म्याच कुशलले ओपनर आसिफ शेखसँग ६६ रनको साझेदारी गरी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । १४ औं ओभरमा आसिफले २३ रन बनाई बाउन्ड्रीलाइनमा क्याच दिन पुगे । आक्रामक खेलेका कप्तान ज्ञानेन्द्र मल्ल १७ रनमा एलबीडब्लू आउट हुन पुगे । कुशल मल्लले १ रनमात्र बनाउन सके । कुशल भुर्तेल र रोहितले तेस्रो विकेटमा ५१ रनको साझेदारी गरेका थिए ।

अमेरिकाका देव्रेहाते स्पिनर निसर्ग पटेलले ज्ञानेन्द्रजस्तै कुशल भुर्तेललाई लेगसाइडमा गएको बलमा एलबीडब्लू आउट गरे । विनोद भण्डारी ३७ रनमा आउट हुनुअघि पाँचौं विकेटमा रोहितसँग ८३ रनको साझेदारी गरे । विनोदले ४८ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । अमेरिकाका निसर्ग र नोसठुग केन्जिगेले २–२ विकेट लिए ।

नेपाल जितका बाबजुद ६ अंकसहित छैटौं स्थानमा यथावत् छ । अमेरिका १२ अंकसहित दोस्रो स्थानमा छ । नेपालले ५ र अमेरिकाले १३ खेल खेलेका छन् । १० खेलमा १६ अंक बोकेको घरेलु टोली ओमानसँग नेपालले मंगलबार दोस्रो खेल खेल्नेछ ।

लिग २ विश्वकप छनोटका आधार हो, जहाँ एक टोलीले ९ शृंखलासहित ३६ खेल खेल्नेछ । शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नेछन् ।

यसअघि मोनान्क पटेलले शतक बनाएपछि टस जितेर ब्याटिङ रोजेको अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको थियो । अमेरिकाले ओमानको मस्कटस्थित एमेरात क्रिकेट मैदानमा ९ विकेट गुमाई २ सय ३० रन बनाएको थियो । पटेलले एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक बनाएका हुन् । उनी ठ्याक्कै एक सय रनमा आउट भए । १ सय १४ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरेका हुन् । उनी केही भाग्यमानी पनि रहे । सोमपाल कामीको बलमा आसिफ शेखले लङअनमा उनको क्याच छाडेका थिए, जतिखेर पटेल ७९ रनमा खेलिरहेका थिए । निसर्ग पटेल २१ रनमा आउट भए । कप्तान सौरभ नेत्रभाल्कर ११ बलमा १३ रन बनाई अविजित रहे ।

नेपालबाट विक्रम सोब, सन्दीप लामिछाने र सुसन भारीले २–२ विकेट लिए । विक्रमले ६ ओभरमा ३३, सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ र सुसनले १० ओभरमा ३१ रन खर्चे । कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । अमेरिकाका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्