कञ्चनपुर : नेकपा (एमाले) निकट युवा र विद्यार्थी सङ्गठनले कञ्चनपुरमा विरोध प्रदर्शन गरेका छन् । सरकारले जनताको ढाड सेक्ने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने, समयमै निर्वाचन गर्नुपर्ने लगायतका माग राख्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ कञ्चनपुरको संयुक्त आयोजनामा चरणबद्ध विरोधका कार्यक्रम गरिएका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना कार्यक्रम गरी कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै नेपाल सरकारको ध्यानाकर्षण गराइएको अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए । ज्ञापनपत्रमा युवा संघ कञ्चनपुरका अध्यक्ष केशब चन्द र अनेरास्ववियुका जिल्ला अध्यक्ष राेकायाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष चन्दले गठबन्धन सरकारका जन हित विरोधी कार्यमा निरन्तर संगठनले खबरदारी गरिरहेकाे बताए ।
यसअघि बुधबार साँझ महेन्द्रनगरमा राँके जुलुस प्रदर्शन गरिएको थियो । त्यस्तै, भोलि शुक्रबार सरकारी सवारी साधन रोकेर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने अनेरास्ववियुले जनाएको छ । युवा संघ नेपाल र अनेरास्ववियुले गठबन्धन सरकारले जन भावना विराेधि काम गरिरहेकाे भन्दै त्यसकाे विराेध गर्दै आईरहेका छन् ।

