महेन्द्रनगर । एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव महेन्द्रनगरमा पनि देखिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा बजार र सार्वजनिक यातायात बन्द भएको छ । निजि सवारी साधन चलेका छन् भने लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् । त्यस्तै सरकारी तथा निजि विद्यालयहरु बन्द गरिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

बन्दका कारण प्रशासनले सुरक्षा व्यवस्था पनि कडा पारेको छ । स्थानीय प्रशासनले सुरक्षाकर्मी मुख्य चोक, राजमार्गक्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राजमार्ग एससिसिको विरोध गर्दै धर्ना समेत दिएको छ ।

गृह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।




