महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक मिनी मार्केटका व्यवसायीको आक्रोशपछि मत नमागेर फर्किएका छन् । चुनावी प्रचारका लागि उनी बुधबार प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट र नेता कार्यकर्ताको दल सहित मदनचोक पूर्वको मिनी मार्केट पुगेका हुन ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मिनी मार्केटमा पुगेर मतका लागि आग्रह गरेपछि व्यवसायीहरु उम्मेदवारप्रति आक्रोशित बनेका दखिन्छन् । उनीहरुले लेखकलाई ‘तपाइँलाई किन भोट दिने?’ भन्दै प्रश्न समेत गरेका छन ।
भीमदत्त नगरपालिकाले मासिक भाडा लिएर व्यापारीहरुलाई मिनी मार्केटमा पसल गर्न दिएपनि त्यहाँको अवस्था दयनीय छ । अस्थायी रुपमा दुई दर्जन पसल सञ्चालनमा रहेपनि बर्खामा डुबान र हिलोका कारण व्यापार हुँदैन । होचो ठाउँ भएकाले व्यापारीहरुले माटो भरानका लागि पटक–पटक नगरपालिकालाई आग्रह गरेपनि अटेर गरेको उनीहरुको भनाई छ ।
लेखक सहित भीमदत्त नगरपालिका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीसंगै भए पनि उनीहरु चुप बसेका छन । उनीहरुले मेयर, उप मेयर, वडा अध्यक्ष कसैले पनि वास्ता नगरेको भन्दै आक्रोश पोखेका थिए । नगरपालिकाको बेवास्ताले आफूहरुको लाखौँ लगानी डुब्न लागेको भन्दै उनीहरु लेखकसित आक्रोशित भएका हुन् ।
‘मेयर र वडाध्यक्षलगायतका जनप्रतिनिधिलाई पटक–पटक आग्रह गर्दा पनि कोही आइदिएनन्,’ एक व्यापारीले भने, ‘भोट दिएर जिताएका जनप्रतिनिधिको यस्तो व्यवहारले दु:ख लाग्छ।’
लेखक पनि चुनाव सकिएपछि समस्या समाधान हुने भन्दै हिडेपछि व्यापारी झनै आक्रोशित भएका छन । ‘भोट माग्दा चिल्लो कुरा गर्छन,’ भिडियोमा ती व्यापारीले भने, ‘त्यसपछि मुख देखाउँदैनन्, स्थानीय चुनावमा जिताएकाहरुलाई देख्दै थाहाँ भइसक्यो, अहिलेकाको कुरा कसरी पत्याउनु ?

