एनपीलाई नरबहादुरको प्रश्न: आरक्षपीडितको बिल्लीबाँठ बनाएर भोट माग्न लाज लाग्दैन ?

झलारी । नेकपा एमालेका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले नेपाली कांग्रेसले आरक्षपीडितको बिल्लीबाँठ बनाएको आरोप लगाएका छन् । सोमवार ढक्का शिविरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘२०५८ सालमा देउवा सरकारले शुक्लाफाँटा निकुञ्ज विस्तारका क्रममा विस्थापित गराइएका नागरिकको व्यवस्थापन २० वर्ष बितिसक्दा पनि गर्न सकेन, अहिले त्यही आरक्षपीडितको एजेण्डा लिएर एनपी साउँद भोट माग्न आउँदैछन्, उहाँलाई लाज लाग्दैन ?’
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निकुञ्ज विस्तार गर्न घरखेत खोसिदिएपछि घरबारविहीन भएका पीडितहरू खोलानाला किनार, सडक, सार्वजनिक एवं खुला क्षेत्रमा झुपडी बनाएर बस्न बाध्य छन् । ‘आरक्षपीडितहरूको व्यवस्थापनका लागि हामीले १० कठ्ठा जमिन दिने, नभए ६० लाख रुपैयाँ दिने भन्यो तर षड्यन्त्रपूर्वक परमादेशबाट हाम्रो सरकार ढाल्ने काम गरियो, सरकार ढलेपछि कार्यान्वयन हुन पाएन,’ उनले भने, ‘अब पुनः एकपटक जिताएर संसदमा पठाउनुस्, ढक्काबाट भेटघाट सुरु गर्छु, संसदको पहिलो बैठकमा विशेष समय लिएर आरक्षपीडितको माग सम्बोधनका लागि बुलन्द रूपमा बोल्छु, कार्यान्वयन गर्न भूमिका खेल्छु ।’
प्रधानमन्त्री देउवासँग आरक्षपीडितका समस्याबारे सोध्दा कञ्चनपुरमा आरक्षपीडित नभई सुकुम्वासी रहेको जवाफ दिएको धामीले बताए । कार्यदलको म्याद १ वर्ष रहेको, गत चैत्रसम्म कार्यदलको म्याद भए पनि त्यसलाई पेन्डुलम बनाएर काम गर्न नदिइएको र पछि दलबहादुर बोहराको नेतृत्वमा अर्को कार्यदल गठन गरिएको धामीले बताए । बोहरा नेतृत्वको कार्यदललाई अहिले निकुञ्जभित्र बसेका व्यक्तिहरू हटाउने अधिकार दिएको धामीको भनाइ छ ।

बोहराको कार्यदलले ६ महिनासम्म राज्यमन्त्रीसरह सुविधा खाएर एउटा व्यक्तिलाई पोस्न, निर्वाचनलाई प्रभावित गर्न, आरक्षपीडित, गरीब जनताको भोट कांग्रेसले लिनका लागि षड्यन्त्र गरिएको धामीले बताए । आरक्षपीडितलाई १० कठ्ठा जग्गा वा ६० लाख रुपैयाँ दिन आफूहरू अघि बढ्न खोज्दा सरकार ढालिएको उनले बताए ।

नेकपा एमाले कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका धामीले ३० वर्षदेखि चुनाव लडिरहेका एनपी साउँदले बल्ल आरक्षपीडितको समस्या ‘क्यान्सर’ हो भन्ने थाहा पाएको र त्यो क्यान्सर कसले लगाएको भन्दै प्रश्न गरे । ‘साउँदले समस्या समाधान गर्नु त परै जाओस् बल्ल क्यान्सर हो भन्दै डाक्टर भएर निस्किए,’ धामीले भने । धामीले सुरेन्द्र बम नेतृत्वको कार्यदलले सिफारिस गरेको १० कठ्ठा जमिन वा ६० लाख रुपैयाँ दिने कुरा कार्यान्यन गर्न अब आफू लड्ने बताए ।

सुन्दरपुरको कार्यक्रम कांग्रेस नेता साउँदले १० लाख रुपैयाँ दिने भनेको उल्लेख गर्दै धामीले भने, ‘एमालेले १० कठ्ठा जमिन वा ६० लाख दिने कुरा गरेको छ, उहाँ चाहिँ १० लाख दिने रे !’ आरक्षपीडितका समस्याका विषयमा आफूले संसदमा बुलन्द रूपमा बोलेको बताउँदै धामीले यसअघि आरक्षपीडितको पक्षमा प्रतिवेदन पेश गर्ने कार्य मात्रै भएको र अब जिताए आरक्षपीडितको समस्या समाधान गरिछाड्ने बताए । समस्या समाधानका लागि अन्तिम हदसम्म लडाइँ लड्ने उनले बताएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्