कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएशियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङ्गलबार (आज) राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएशियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।
यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएशियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हराएको थियो । क्रोएशियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनल यात्रामा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएशियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको इतिहास छ ।
