महेन्द्रनगर । कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वद्धी भएको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९\८० मा जिल्लामा धानको उत्पादन बढेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सुचना अधिकारी हरिदत्त जोशीले गत वर्ष भन्दा यस वर्ष धानको उत्पादकत्वमा वृद्धी भएको बताए । उनका अनुसार यस वर्ष कञ्चनपुरमा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्ष भन्दा ५३ दशमलव ७ प्रतिशतले बढी हो ।
४८ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कञ्चनपुरमा उत्पादकत्व प्रतिहेक्टर ३ दशमलव ९२ टन रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गत वर्ष कञ्चनपुरमा एक लाख २३ हजार छ सय मेट्रिक टन धान उत्पादन भएको थियो । सोही वर्ष जिल्लामा ४८ हजार ४ सय ६९ हेक्टरमा धान खेती गरिएकोमा उत्पादकत्व प्रतिहेक्टर २ दशमलव ५५ मेट्रिक टन रहेको थियो ।
गत वर्षको तुलनमा यस वर्ष जिल्लामा ६६ हजार चार ३९ मेट्रिक टन बढी धान उत्पादन भएको हो । धान खेतीमा उन्नत बिउ विजन, मल खाद, सिचाँई तथा यान्त्रिकरणको प्रयोग बढ्दैँ गएकोले उत्पादत्वमा वृद्धि हुदैँ गएको सुचना अधिकारी जोशीले बताए । जिल्लामा किसानले बालि लगाउने समयमा उन्नत बिउ र मल अभाव हुने गरेको छ । साथै गत वर्ष बेमौसमि वर्षाका कारण धान बालिमा ठुलो मात्रामा क्षती पुगेकाले पनि जिल्लामा उत्पादकत्व घटेको थियो ।
धानको उत्पादकत्व मापनका लागि कृषि ज्ञान केन्द्रले जिल्लाका विभिन्न पालिकाबाट एक सय ४० वटा उत्पादित धानको नमुना संकलन गरेको थियो । सोही नमुना परिक्षण गरि क्षेत्रफल र उत्पादनको आधारमा जिल्लाको औषत उत्पादकत्व मापन गरिएको हो ।
‘कञ्चनपुरमा कृषि उत्पादकत्वमा धेरै वृद्धि गर्न सकिने सम्भावना देखिन्छ’ सुचना अधिकारी जोशीले भने ‘समयमै मद खाद, उन्नत बिउ बिजन, सिचाँई र आधुनिक कृषि यान्त्रीकरणको प्रयोग गर्न सके उत्पादनमा उलेख्य रुपमा सुधार हुन्छ ।’ उत्पादन र जन संख्याको आधार कञ्चनपुरमा ८६ हजार १६ मेट्रिक टन धान बचत हुने गरेको कृषि ज्ञान केन्द्र तथ्याङ्क छ । जुन सुदूरपश्चिमका पहाडी जिल्लाहरु निर्यात हुने गरेको छ ।
