महेन्द्रनगरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला फागुन १ देखि

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आउँदो फागुन १ देखि सुदूरपश्चिम प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गरिने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजनामा महोत्सवको १४ औँ संस्करण हुन लागेको हो । उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले सुदूरपश्चिम पर्यटन महोत्सवको तयारी सुरु भएको बताए । उनका अनुसार कोरोना संक्रमणपछि अवरुद्ध रहेको महोत्सव यस वर्षबाट आयोजना गर्ने तयारी भईरहेको छ । महेन्द्रनगरको खुला मञ्चमा १० दिनसम्म चल्ने महोत्सवममा स्थानीय कला संस्कृत तथा उत्पादनको प्रस्तुतीसँगै राष्ट्रिय कलाकारहरुको सहभागीता रहने छ ।
महोत्सवको तयारीका लागि मुल आयोजक समितिसँगै १५ वटा उप–समिति गठन गरिएको अध्यक्ष जोशीले बताए । समितिहरुलाई छुट्टछुट्टै जिम्मेवारी तोकिएको छ । तीन सय स्टल रहने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिईएको अध्यक्ष जोशीको भनाई छ । ‘कोरोना संक्रमणपछि यस क्षेत्रको आर्थिक गतिविधि पुर्ण रुपमा लयमा फर्कन सकेको छैन् ।’ अध्यक्ष जोशीले भने ‘आर्थिक गतिविधिलाई चलायमान बनाउने र यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रचारप्रसारमा हामिले जोड दिएका छौँ ।’
त्यस्तै स्थानीय घरेलु उद्योग, महिला उद्यमीको उत्पादन तथा सुदूरपश्चिमका परम्परागत उत्पादन मेलामा राखिने छन् । त्यस्तै महोत्सवमा देउडा र विद्यालय स्तरीय कला प्रतियोगिता पनि आयोजना गर्ने तयारी गरिएको अध्यक्ष जोशीले जानकारी दिए । महोत्सव आयोजनाका लागि प्रायोजन तथा सह प्रयोजनका लागि प्रस्ताव आह्वन समेत गरिएको आयोजकले जनाएको छ । साथै मेलाबारे उद्योग वाणिज्य संघले जिल्लाका स्थानीय तह, संघका पुर्व अध्यक्षहरुसँग पनि छलफल सुरु गरेको संघका अध्यक्ष जोशीले बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्