कञ्चनपुर भन्सारबाट १ अर्व ४७ करोडको सामान आयात, निकासी १ करोड ८० लाख मात्रै

महेन्द्रनगर । कञ्चनपुरस्थित नेपालको पश्चिमी सिमा नाकाबाट गत आर्थिक वर्षमा एक अर्व ४७ करोडको सामान आयात गरिएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा उक्त मुल्य बराबरको सामान नेपाल आयात गरिएको हो । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख ध्रुव कुमार विश्वकर्माले यस नाकाबाट आयातको तुलनामा निर्यात न्यून रहेको बताए ।

स्वदेशी उत्पादन न्यून हुदाँ निर्यात कम भएको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा एक करोड ८० लाख मुल्य बराबरको सामान मात्रै निकासी भएको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार आयातित वस्तुहरुमा महिलाहरुले प्रयोग गर्ने कपडा लगायतका सामाग्रीहरु सबैभन्दा बढी रहेका छन् । एक वर्षमा ११ करोड २८ लाख ९६ हजार मुल्य बराबरका उक्त सामाग्री आयात गरिएको छ । त्यस्तै गारमेन्टस् सामाग्री एक करोड ९४ लाख १५ हजार, आलु ८४ लाख २२ हजार, प्याज ४९ लाख ४९ हजार मुुल्य बराबरको आयात गरिएको छ ।

त्यस्तै कपडा ९७ लाख २७ हजार, कम्बल ९३ लाख तीन हजार, घरायसी प्रयोजनका सामाग्री ९३ लाख ९० हजार, र सवारी साधनका पाट्स ८८ लाख १९ हजार मुल्य बराबरसहित अन्य सामान आयात गरिएको भन्सार कार्यालयले जनाएको छ । विभिन्न शिर्षकमा सामाग्री आयात हुने गरेपनि नेपालको उच्च उत्पादन नुहदाँ निर्यात अत्यधिक कम रहेको छ । भन्सार कार्यालयका प्रमुख विश्वकर्माका अनुसार हस्तकलाका सामाग्री, सावारी साधन मर्मतका लागि निकासी हुने बाहेक अन्य निर्यात उल्लेख्य परिमाणमा छैन् ।

गत आवमा मुर्ती तथा हस्तकला लगायतका सामाग्री एक करोड ७२ लाख मुल्य बराबरको सामान निर्यात भएको छ । सिमा नदी महाकाली उच्च क्षमताको मोटरेबल पुन नहुदाँ अन्य नाकाको तुलना यहाँ आयात –निर्यात कम हुने गरेको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ५४ करोडको आयात गरिएकोमा निर्यात ५ करोड ६४ लाख रहेको थियो ।

लक्ष्य अनुसार संकलन भएन भन्सार राजस्व

समग्र अर्थतन्त्रमा परेको प्रभाव भन्सार राजस्व संकलनमा देखिएमा पनि देखिएको छ । पश्चिमी नाका कञ्चनपुरबाट आयात घटेकाले राजस्व संकलनमा पनि कमी आएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा भन्सार कार्यालयले वार्षिक ५८ करोड ९६ लाख ४४ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा ४२ करोड नौ लाख ९६ हजार मात्रै राजस्व संकलन भएको छ ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत ध्रुव कुमार विश्वकर्माले वार्षिक लक्ष्यको ७१.४० प्रतिशत राजस्व संकलन भएको बताए ।

उनका अनुसार आयातमुखी भन्सार भए पनि यहाँ आयात नै घटेकाले राजस्व संकलनमा कमी आएको हो । भन्सार विभागको राजस्व संकलनको अनुपातमा कञ्चनपुरमा राम्रो राजस्व संकलन भएको उनले बताए । विभागले ५८ प्रतिशत राजस्व संकलन गरेकोमा भन्सार कार्यालय कञ्चनपुरले ७१ प्रतिशत बढी राजस्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा ५२ करोड ७७ लाख राजस्व संकलन गर्नुपर्नेमा ४६ करोड २२ लाख संकलन गरेको थियो । यस नाकाबाट दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, विद्युतीय सामग्री, फलफूल र तरकारी लगायतका सामग्री भित्रिने गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्