अन्तर्राष्ट्रिय सीमा सरोकार समूहकाे आपत्ति
महेन्द्रनगर । सरकारले सीमा विवाद समाधान नगरी पिल्लर मर्मत कार्य अघि बढाउन कार्यविधि निर्माण गरेकाे छ । सरकारले सशस्त्र प्रहरीमार्फत सीमा पिलर मर्मतका लागि सशस्त्र प्रहरीलाई कार्यविधि पठाएकाे छ ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतसँग रहेको सीमा विवाद समाधान नगरी सशस्त्र प्रहरी बल नेपालले सीमा स्तम्भ (पिल्लर) मर्मत गर्न खोजेपछि अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले आपत्ति जनाएको छ ।
स्ट्रीप नक्साको नाममा नेपाली भूमि भारततिर पारिएको भन्दै नक्सा सच्याउन माग गर्दै २०७६ सालदेखि संघर्षरत समूहका संयोजक पल्लबराज भट्टले सीमा विवाद समाधान नगरी पिल्लर मर्मतसम्भार गर्न नहुने तर्क गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘नेपाली जनताको पूूूूूूूूर्जावाल जमिन र नहरमा गाड्नबाट रोकिएको पिल्लर फेरि गाड्न खोजिएको हो ? खबरदार ! जबसम्म हाम्रो भूमि हाम्रो हुने ग्यारेन्टी गरिँदैन, कुनै पनि बाहनामा काम अगाडि बढाउने दुष्प्रयास नगरियोस् ।’सशस्त्र प्रहरी बलले बेलडाँडीको सीमा क्षेत्रमा समिति गठन गर्न स्थानीयको भेला गराएपछि समूहका संयोजकको प्रतिक्रिया आएको हो ।
केन्द्रबाट परिपत्र आएअनुसार सीमा स्तम्भ (पिल्लर) मर्मतसम्भार गर्नुपर्ने भएकाले समिति गठन गर्न खोजिएको सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी गण झलारीका एसपी प्रेमबहादुर रावलले जानकारी दिए । सीमा स्तम्भ मर्मतका लागि सशस्त्र प्रहरीले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को संयोजकत्वमा रहने समिति गठन गरिएछ ।
सीमा स्तम्भ मर्मत गर्दा दुवै देशका टोली राखेर संयुक्त टोलीबाट मर्मत हुने सशस्त्र प्रहरीले जनाएको छ ।
वडा कार्यालयको समन्वयमा सशस्त्र प्रहरीले स्थानीयको सहजीकरण झसमिति बनाउन बेलडाँडीमा भेला गरेको जनाइएको छ । सीमा यकिन नगर्दै नेपाली भूमि भारतमा पर्ने गरी मर्मत गर्न खोजिएको भन्दै संयोजक भट्टले आपत्ति जनाएका छन् ।
उनले लेखेका छन्, ‘अहिले सरकारी पक्षले सीमा सहजीकरण समितिको नाममा सशस्त्र प्रहरीमार्फत स्थानीय अगुवा तथा जनप्रतिनिधिलाई अगाडि लगाएर पिल्लर स्थापना तथा मर्मत गर्ने कार्य गर्न खोजिरहेको कुरा आएको छ । स्ट्रीप नक्साको नाममा भारततर्फ पारिएको हामीले भोगचलन गरिरहेको जमिन, नहर, स्कूल, हुलाकी सडक नेपालकै हुने ग्यारेन्टी नहुँदासम्म नापी गर्न नदिने, पिल्लर गाड्न नदिने र सिमांकन गर्न नदिने गरी २०७६ सालदेखि जनताको आन्दोलनबाट कैलाली–कञ्चनपुरको संयुक्त सीमा सर्भे टोलीको नापी र सीमांकनको कार्य रोकिएको हेक्का होस् । अन्तर्राष्ट्रिय सीमा सरोकार समूह निर्माण गरी यस विषयमा राज्यका सबै निकाय र आमजनतालाई सजक गराई सीमाको मुख्य समस्या र समाधानको उपायबारे हाम्रो धारणा स्पष्ट गर्दै आएका छौं । सिमानाको मुख्य समस्या स्ट्रीप नक्सा र यसलाई सच्याउन भारतसँग बोल्न नसक्ने हाम्रो राज्य संयन्त्र हो । सशस्त्र प्रहरीले आजै बेलडाँडीको सीमा क्षेत्रमा समिति गठन गर्न भेला गरेको कुरा आएको छ, यो समितिको काम, कर्तव्य र अधिकार के हो ? के उद्देश्यले बनाउन खोजिएको हो ? के जनताले तोडेको पिल्लर मर्मत गर्न खोजेको हो ? वर्तमान सरकारका प्रधानमन्त्रीज्यू र परराष्ट्रमन्त्रीज्यूलाई समाधानको सही विकल्प समेत प्रष्ट रूपमा बताउन चाहन्छौं – या त विवादित स्ट्रीप नक्सालाई हाम्रो भूमि भारततिर पारिएको स्थानमा सच्याउने प्रस्तावमा भारतलाई सहमत गराएर आउनुहोस्, होइन भने भारत र बंगलादेशबीच लामो समय चलेको सीमा विवाद राजनीतिक सहमतिमा एकअर्कालाई गाउँका गाउँ छाडेर मिलाएझै हाम्रो भोगचलनको र सामरिक महत्त्वको भूमि हामीलाई छोड्ने र भारतको भोगचलनमा रहेको भूमि जो हाम्रातिर आउँदैछ भनिएको छ, त्यो भूमि उसैलाई छोड्ने सहमति गरेर आउनुहोस् । त्यस बाहेकको कुरा राष्ट्रघाती कदम हुनेछ र त्यो कुनै पनि हालतमा स्वीकार्य हुने छैन । जुन दिन माथि उल्लेखित कुरा गर्न सक्ने सरकार आउने छ, त्यो दिन सीमांकन हुनेछ, तबसम्म पर्खिन तयार छौं । सिमानामा तस्करी रोक्न, लागूऔषधको ओसारपसार रोक्न, समिति निर्माण गर्न खोजिएको हो भने हामी सबै सहयोग गर्न तयार छौं तर सुरक्षा निकायले यस्तो समिति बनाउला भन्ने लाग्दैन, किनकि तस्करी सेटिङमै हुन्छ भन्ने सुनिँदै आएको अवस्थामा समिति सेटिङको बाधक हुने हुँदा यस्तो पवित्र कार्य त हुँदैन होला भन्ने हामीलाई लागेको छ, तसर्थ समितिमा बस्ने व्यक्तित्वहरूमाथि उल्लेखित कुराबारे सजक रहन आग्रह समेत गर्दछौं ।’