भिओयूद्वारा आयोजित प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सुरु

महेन्द्रनगर – कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीले आयोजना गरेको उक्त प्रतियोगिता मङ्गलबार देखि सुरु भएको हो। 

प्रतियोगितामा सुदूरपश्चिमका ४ जिल्लाका २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमश ५५ हजार ५ सय ५५, २२ हजार २ सय २२, ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल प्रमाण पत्र प्रदान गरिनेछ । 

मङ्गलबारबाट प्रतियोगिता सुरु भइ बुधबार सम्म चल्ने भ्वाइस अफ युनिभर्सिटीका अध्यक्ष पुस्कर राज पन्तले बताए। 

भ्वाइस अफ युनिभर्सिटीका अध्यक्ष पुस्कर राज पन्तको अध्यक्षता रहेको प्रतियोगिताको उद्‌घाटन कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन गर्न सहयोग गर्ने भन्दै अतिरिक्त क्रियाकलाप गर्न आवश्यक रहेको बताए। साथै उनले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न नगरपालिकाले सँधै सहयोग गर्ने प्रतिवद्धता गरेका छन्। 

उद्‌घाटन कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक, विभिन्न सरकारी गैरसरकारी सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधि, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्