महेन्द्रनगरमा पहिलो सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराते प्रतियोगिता हुँदै

कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराते प्रतियोगिता–२०८२ हुने भएको छ। नेपाल शितोरियो कराँते सङ्घ तथा सुदूर पश्चिम प्रदेश शितोरियो कराँते सङ्घ को आयोजनामा हुने प्रतियोगिता आगामी २०८२ साल असोज ७ देखि ९ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

नेपाल कराते संघसँग आवद्ध नौवटै जिल्लाका खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। प्रतियोगिता महेन्द्रनगरस्थित जिल्ला खेलकुद विकास समितिको सितारियो कराते हलमा आयोजना गरिने भएको हो।

प्रतियोगितासँगै रेफ्री आयोग बैठक, तौल मापन, कोच तथा रेफ्री ब्रिफिङजस्ता कार्यक्रमहरू पनि तय गरिएको छ। कार्यक्रमअनुसार असोज ६ गते दिउँसो १२ बजे टिम दर्ता, दिउँसो २ बजे रेफ्री बैठक, साँझ ५ बजे कोच तथा रेफ्री ब्रिफिङ हुनेछ। खेलाडीहरूको तौल मापन सोही दिन दिउँसो ३ बजे हुनेछ।

आयोजक समितिका संयोजक ओमकार गिरीका अनुसार यो प्रतियोगिता सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो कराते महोत्सवका रूपमा हुनेछ। प्रतियोगिताले सुदूरपश्चिमका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ।

नेपाल कराते महासंघ, एशियन कराते महासंघ, दक्षिण एशियाली कराते महासंघ तथा वर्ल्ड कराते महासंघसँग आवद्ध यस प्रतियोगिता नेपाल ओलम्पिक कमिटीद्वारा समेत मान्यता प्राप्त छ।

यस प्रतियोगिताले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई व्यवहारमा उतार्दै सुदूरपश्चिम प्रदेशमा कराते खेलको स्तरलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्